काठमाडौँ । कोभिड १९ को महामारीले विश्वमा हलचल ल्याएको छ । विश्वमा ७ अर्ब ७३ करोडभन्दा बढी जनसङ्ख्या छ । त्यसको एक चौथाइ १ अर्ब ९३ करोडभन्दा बढी मान्छे लकडाउन अथवा घरभित्र बन्दी बनेका छन् ।
दर्जनौँ राष्ट्रहरू लकडाउन गर्न बाध्य भएका छन् । विश्वका २ हजारभन्दा बढी स्थानमा सीमाहरू बन्द गरिएका छन् । विमानस्थल, होटल, व्यापार, विद्यालय बन्द छन् । अर्थतन्त्र धराशायी बनेको छ । लाखौँ कामदार वेरोजगार बनेका छन् । समाजमा ठूलो उथलपुथल सिर्जना भएको छ ।
कारोना भाइरस अर्थात कोभिड १९ को महामारीपछि मान्छेको जीवनको गतिलाई तहसनहस पार्दैछ । चाल बन्द छ । जो जहाँ छन्, त्यहीँ रोकिएका छन् ।
अहिले जे भइरहेको छ, त्यसले विश्वलाई कयौँ वर्ष पछाडि धकेल्छ ? अथवा विश्वको जीवनशैलीलाई दीर्घकालीन रूपमा नै बदलेर झन रामो हुन्छ ? वैज्ञानिकहरू विश्लेषण गर्न थालेका छन् ।
अर्थशास्त्रीहरूले विश्वको अर्थतन्त्रमा ११ रेक्टर स्केलको भूकम्पजत्तिकै धक्का लाग्ने भनिरहेका छन् । तर धेरैले महामारीपछिको दुनियाँ यसअघिको भन्दा खराब होइन झन राम्रो हुने आँकलन गरिरहेका छन् ।
स्वास्थ्य
अब मानिसले दैनन्दिनको जीवनशैलीमा व्यापक परिवर्तन ल्याउने छन् । काम गर्ने तरिका, जीवनको समय तालिका, खाने, बस्ने, लगाउने, घरपरिवारसँग गर्ने व्यवहार र जीवन चलाउने तरिका फेरिने वैज्ञानिकहरूको विश्लेषण छ ।
स्वास्थ्य क्षेत्रका विज्ञहरूले अब मान्छेहरूले स्वास्थ्यको महत्व बुझने, सरसफाइ मान्छेहरूको आदत बन्ने र त्यसले नै आउने बाँकी समय र स्वास्थ्यलाई व्यवस्थित बनाउने दावी गरेका छन् । गाउँ गाउँमा आपतकालीन अस्पतालको पूर्वाधार निर्माण, रोगसँग लड्न योजना बन्न थालेकाले महामारी स्वास्थ्य क्षेत्रलाई भोलिका दिनमा व्यवस्थित बनाउन सहयोगी बन्ने आँकलन छ ।
प्रविधि
प्रविधि क्षेत्रका विज्ञहरूले सङ्कटको सबैभन्दा बढी फाइदा प्रविधि क्षेत्रका कम्पनीहलाई हुने विश्लेषण गरेका छन् ।
घरभित्र थुनिएका मान्छेको बाहिरी संसार हेर्ने एक मात्रै माध्यम स्मार्ट फोन बनिरहेको सन्दर्भलाई उल्लेख गर्दै अमेरिकाका प्रविधिविज्ञ एन्ड्रयू कीनले यो महामारीसँग लडन सबै सरकारले प्रविधिमाथि निगरानी र प्रविधिकै सहायता लिइरहेकाले माहामारीपछि प्रविधि शक्तिशाली हुने दावी गर्नु भएको छ ।
धर्म
कोभिड १९ को महामारीले कहिल्यै बन्द नहुने धार्मिकस्थल, धर्मसँग जोडिएका सबै गतिविधि पनि बन्द छन् ।
केही महिनामा मुसलमानहरूको रमजान, नियमित भइरहने हज, इसाईहरूको सामूहिक प्रार्थना, हिन्दुहरूको पूजा र शियाको अरवीएन जस्ता जमघटहरूमा महामारीपछि निश्चित मापदण्डहरू तोकिन थाल्नेछन् ।
मलेसियाका धर्मका अनुसन्धानकर्ता मोह्द फैजल मुसाका अनुसार धर्मप्रति विश्वास घटला कि बढ्ला भन्ने बहस चलिरहेको छ तर, धर्मीकस्थलहरू व्यवस्थित हुने विश्लेषण भइरहेको छ ।
महामारीपछि केही सुखद परिदृश्य देखिने चर्चा चलिरहे पनि विश्व आर्थिक सङ्कटले हरेक मुलुक र सरकार अप्ठ्यारोमा पर्नेछन् ।
ठूलो असर स्वास्थ्य क्षेत्रमा नै देखिनेछ । कमजोर र असफल राष्ट्रहरू अराजकतातर्फ धकेलिने र त्यसले मानव जीवनमा अर्को सङ्कट ल्याउने बहस पनि विश्व राजनीतिमा चलिरहेको छ ।
अडियो सुन्नुहोस्ः
प्रकाशित मिति: मंगलबार, चैत १८, २०७६, १५:३५