काठमाडौं ।
कोरोना भाइरस (कोभिड १९)का कारण लकडाउनको अवस्थामा रगतको अभाव हुन नदिन नेपाल रेडक्रस सोसाइटी महाबौद्ध उपशाखा र काठमाडौं जिल्ला शाखाले संयुक्त रूपमा ‘एक घर एक रक्तदाता’ अभियान शुरू गरेको छ ।
अभियान अन्तर्गत नेपाल रेडक्रस सोसाइटी महाबौद्ध उपशाखाको संयोजनमा चागल निवासी राकेश कर्माचार्यको अगुवाइमा भक्तपुर रक्त सञ्चार केन्द्र (ब्लड बैंक) मार्फत शुक्रबार रगत संकलन गरिएको हो ।
काठमाडौं महानगरपालिका १५ वडाको चागल, लखतिर्थ र धुम्बाखेलका १३ जना स्थानीयले रक्तदान गरेका छन् ।
‘लकडाउनको समयमा रगतको अभाव भएको फेसबुक मार्फत जानकारी पाएकोले चागल, लखतिर्थ र धुम्बाखेलका साथीहरुलाई रक्तदानको लागि अपिल गयौं, रामेश्वरमान कर्माचार्यले भन्नुभयो, ‘घरघरमा आएर रगतको संकलन गरिने जानकारी प्राप्त भएपछि आफ्नै घरमा रेडक्रस सोसाइटीका सहकर्मीहरुलाई बोलाएर यो रक्तदान कार्यक्रम गरेका हौं ।’
आफूहरुले गरेको अनुरोधलाई स्वीकार्दै स्थानीयले घर दैलोमै रक्तदान गरेका कर्माचार्यले बताउनुभयो । महामारीको अवस्थामा रगतको अभावले थप कसैको ज्यान नजाओस् भनेर यस्तो कार्यक्रम गरिएको पनि उहाँले बताउनुभयो ।
यस्तो लकडाउनको समयलाई चुनौतीको रुपमा सामना गरेर रक्तदान कार्यक्रम गर्दा व्यक्तिगत सुरक्षाको सबै साधन अपनाइ सावधानी पूर्वक रक्तदान सम्पन्न गरेको महाबौद्ध उपशाखाका सचिव प्रकाश अमात्यले बताउनुभयो ।
प्रत्येक घरपरिवारवाट एक जनाको दरले नियमित रगत दान गर्ने हो भने हालको अभाव सामान्य हुने उहाँको भनाइ छ ।
सामाजिक दुरी कायम गरी संक्रमणको सुरक्षा व्यवस्थापन कायम गरी घर दैलोमा रगत संकलन गरिने भएको हुँदा यसले रक्त संकलन र सञ्चारमा नौलो अभ्यासको थालनी गर्ने अमात्यले बताउनुभयो ।
पछिल्लो समय रक्तदाता घरघरमै सीमित हुँदा रगतको अभाव चुलिएको भन्दै रेडक्रसले घरदैलो रगत संकलन अभियानलाई तीव्र बनाएको छ ।
स्थानीय लक्ष्मण शाही, नविन्द्रमान सिं, अर्जुन महर्जन, मीरा कर्माचार्य, मंगल महर्जन, आदर्श विक्रम शाही, सुशिल रत्न तुलाधर, प्रगुन महर्जन, लोचन थापामगर, युनिक मान डंगोल, आयुष राज बलामी, प्रकाश अमात्य र विनय मुनिकारले रक्तदान गर्नुभएको हो ।
प्रकाशित मिति: शनिबार, चैत २२, २०७६, १५:३८