काठमाडौं ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको जनाएको छ ।
नियमित मिडिया ब्रिफिङका क्रममा आज मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले आज तीन जना नयाँ संक्रमित पुष्टि भएको जानकारी गराउनुभएको हो ।
यो सँगै नेपालमा संक्रमितको संख्या ९ पुगेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण भएका नमुनामध्ये आज तीनवटाको पोजेटिभ रिपोर्ट आएको देवकोटाले बताउनुभयो । आज पोजेटिभ रिपोर्ट आएकामा एकजना ३४ वर्षका महिला, एकजना २१ वर्षका पुरुष र अर्का एकजना ४१ वर्षका पुरुष रहेका छन् ।
दुवैजना पुरुष भारतबाट आएका र कैलाली र कञ्जनपुरको क्वारेन्टाइनमा बसेकामा नमुना जाँच गर्दा पोजेटिभ रिपोर्ट आएको उहाँले बताउनुभयो ।
उनीहरु दुबैजनाको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ । आज संक्रमित पुष्टि भएका महिला भने संक्रमितको परिवारको सदस्य भएको मन्त्रालयले जानकारी दिएको छ । उनको पनि प्रादेशिक अस्पतालमै उपचार भइरहेको छ ।
यस अघिसम्म बाहिरबाट आएका मानिसमा मात्रै संक्रमण देखिएकोमा आज पहिलोपटक नेपालमै रहेकामा पनि संक्रमण देखिएको छ । अर्थात् नेपालमा संक्रमित व्यक्तिबाट अर्को व्यक्तिमा पनि भाइरस सरेको छ ।
संक्रमित व्यक्तिबाट अर्को व्यक्तिमा सरेको नेपालमा यो पहिलो घटना हो । यसले झन जोखिम बढाएको भन्दै मन्त्रालयले बाहिरबाट आएका मानिस अनिवार्य रुपमा विशेष सावधानीका साथ क्वारेन्टाइनमै बस्न अनुरोध गरेको छ ।
हालसम्म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा एक हजार ४ सय ४१ नमुना परीक्षण भएको पनि देवकोटाले जानकारी गराउनुभयो ।
उहाँका अनुसार धरानको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, जनकपुर, हेटौंटा, पोखरा, धनगढी र सुर्खेतमा गरी काठमाडौं बाहिर ६ ठाउँमा नमुना परीक्षणको काम भइरहेको छ ।
चितवन र बुटवलमा आवश्यक उपकरण जडानको काम सकिन लागेको र भोलीबाट जाँच सुरु हुने जानकारी मन्त्रालयलाई प्राप्त भएको प्रवक्ता देवकोटाले बताउनुभयो ।
काठमाडौं उपत्यकामा १५ र बाहिर ५४ जना आइसोलेसनमा रहेका मन्त्रालयले जनाएको छ ।
दुईवटा कल सेन्टर ११३३ र १११५ मा आएका कल मध्ये तीन हजार चार ६५ वटा संवोधन गरिएको पनि मिडिया ब्रिफिङका क्रममा देवकोटाले बताउनुभयो ।
६५ सय २७ मानिसले मन्त्रालयको नयाँ वेबसाईट र मोबाइल एपमा स्व मूल्यांकनका लागि आफूमा देखिएका लक्षण इन्ट्री गराएका मन्त्रालयले जानकारी दिएको छ ।
तिमध्ये एकसय २६ जना रेड जोनमा रहेका र उनीहरुलाई फोन मार्फत् र सम्बन्धित महाशाखा मार्फत् ट्रेसिङ गरिएको पनि मन्त्रालयले जानकारी गराएको छ ।
प्रकाशित मिति: शनिबार, चैत २२, २०७६, १७:०७