नन्दा थापा, रेडियो बार्जु, बाजुरा
बाजुरामा कोरोना संक्रमणको आशङ्का गरिएका व्यक्तिको नमुना जाँचको रिपोर्ट नेगेटिभ आएको छ ।
परीक्षणका लागि काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको नमुनाको रिपोर्ट नेगेटिभ आएको जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर रुपचन्द्र विश्वकर्माले जानकारी दिनुभयो ।
भारतको नयाँ दिल्लीबाट फर्किएका १६ वर्षका युवकलाई गएको मंगलबार जिल्ला अस्पताल बाजुरामा राखिएको थियो । क्वारेन्टाइनमा बसेका गौमुल गाउँपालिकाका उनलाई ज्वरो बढेपछि जिल्ला अस्पताल ल्याइएको थियो ।
कोरोनाको आशङ्कामा आइसोलेशन कक्षमा राखेर उपचार गरिरहेका युवकको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ देखिएको हो ।
ज्वरो आउने, खोकी लाग्ने जस्ता लक्षण देखिएका युवाको केन्द्रीय प्रयोगशालाबाटै परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएपछि उनलाई आइसोलेशन कक्षबाट डिस्चार्ज गरिएको छ ।
भर्ना भएकै भोलीपल्ट नमुना जाँचका लागि सेति प्रादेशिक अस्पताल धनगढी पठाइएको थियो । धनगढीमा मेसिन जडानमा ढिलाई हुँदा जाँचका लागि काठमाडौं पठाइएको हो ।
ढुक्क हुनेगरि नतिजा आएकोले बिरामीलाई अन्य बिरामीसँगै राखिने बेडमा सारिएको अस्पतालले जनाएको छ । थप चेक जाँच गरेर केही दिनमै घर पठाउने कार्यालय प्रमुख समेत रहनुभएका डाक्टर विश्वकर्माले बताउनुभयो ।
उनमा क्षयरोग र फोक्सोमा अरु नै समस्या हुन सक्ने डाक्टर विश्वकर्माले बताउनुभयो । ज्वरो आउनेक्रम नरोकिएपनि परीक्षणबाट कोरोना भएको पुष्टि नभएकोले अन्य रोगको पहिचान गरि उपचार गरिने अस्पतालले जनाएको छ ।
जिल्लामा ९२ जना बाहिरबाट आएका सर्वसाधारण क्वारेन्टाइनमा बसेका छन् । क्वारेन्टाइनमा बसेका सबैमा कुनै समस्या नदेखिएको स्वास्थ्य कार्यालय बाजुराले बताएको छ ।
प्रकाशित मिति: शनिबार, चैत २२, २०७६, १९:४०