काठमाडौं ।
काभ्रेको धुलिखेल अस्पतालमा आजदेखि कोरोना भाइरस संक्रमण सम्बन्धी परीक्षण सेवा शुरु हुने भएको छ ।
पहिलो चरणमा साताको दुई दिनमात्रै कोरोना संक्रमणको परीक्षण गरिने अस्पताल प्रशासनले जनाएको छ ।
संक्रमणको अवस्था हेरेर परीक्षणको अवधि थपिने धुलिखेल नगरपालिकाका उपप्रमुख बिमला चौलागाईंले सीआईएनलाई जानकारी दिनुभयो ।
पर्याप्त पिपीइ, परीक्षण किटलगायतका परीक्षण सामग्री व्यवस्थापन गर्दै जाने भएकाले हाललाई हप्ताको दुई दिनमात्रै परीक्षणको समयावधि तोकिएका उहाँले बताउनुभयो ।
बाग्मती प्रदेश सरकारले कोरोना संक्रमण परीक्षण तथा उपचारका लागि अस्पताललाई धुलिखेल नगरपालिका मार्फत् २० लाख उपलब्ध गराएको छ ।
प्रदेशस्थित सामाजिक विकास मन्त्रालयले उक्त रकम नगरपालिकाको खातामा पठाइसकेको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्र झाले जानकारी दिनुभयो ।
उहाँका अनुसार धुलिखेल अस्पतालमा कोरोना संक्रमणको परीक्षण शुरु भएपछि छिमेकी जिल्ला सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली तथा भक्तपुरका नागरिकलाई सहज हुनेछ ।
अहिलेसम्म राजधानी तथा आसपासका जिल्लाका नागरिकमा कोरोना जाँच गर्नुपर्दा राजधानी काठमाडौँमा परीक्षण हँुदै आएको छ ।
प्रकाशित मिति: आइतबार, चैत २३, २०७६