न्यूयोर्क विश्वविद्यालयले गरेको एउटा अध्ययन अनुसार पैसामा सुक्ष्म जीव बाँच्न र हुर्कन उपयुक्त वातावरण हुने पुष्टि भएको छ ।
काठमाडौं । चिकित्सकहरु भन्छन्, पैसा अर्थात् नोटमा सबैभन्दा धेरै किटाणु हुन्छन् ।
अत्यधिक चलायमान हुने र एकै दिनमा सयौँ मानिसको हात–हातमा पुग्ने भएकाले नोटमा भाइरस धेरै हुन्छ । त्यस्ता नोट वा पैसाबाट भाइरस सर्ने जोखिम कम गर्ने उपाय पनि अपनाउन सकिन्छ ।
सकेसम्म धेरै पैसा कमाउने र दुःख गरेर कमाएको पैसा जोगाएर राख्ने बारेमा धेरैले सोचे पनि महत्वपूर्ण ठानेको पैसा अर्थात् नोटमा जीवन नै जोखिममा पार्ने भाइरस हुन्छ भन्ने बारे थोरैले मात्र सोचेका हुन सक्छन् ।
न्यूयोर्क विश्वविद्यालयले गरेको एउटा अध्ययन अनुसार पैसामा सुक्ष्म जीव बाँच्न र हुर्कन उपयुक्त वातावरण हुने पुष्टि भएको छ । त्यसैले कोरोना भाइरस पनि नोटबाट सर्न सक्ने खतरा रहेको बताउनुहुन्छ, सरुवारोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन ।
नोटको कारोबार गरिसकेपछि मिचिमिचि हात धुनु नै कोरोना सङ्क्रमणको जोखिमबाट बच्ने उपाय हो ।
डाक्टर पुनले भन्नुभयो, ‘नोट यसैपनि संक्रमणको एउटा संवाहक हो भन्ने भनाइ छ, खासगरी यदि त्यसलाई राम्रोसँग हेर्ने हो भने । त्यो कारणले गर्दाखेरी, सामानहरुमा हुने भनेर भनिराखेका छन् । यदि त्यस्तो हो भने पैसा सबैभन्दा बढि हातैहात चल्नेभयो बढिमात्रामा । त्यसकारण त्यहाँ कतै भाइरस रहन सक्छ कि भनेर मैले ति कुराहरुलाई आधार मानेर उदाहरण दिएको हो ।’
पैसाको माध्यमबाट कोरोना अर्थात् कोभिड–१९ एकबाट अर्को व्यक्तिमा सरे नसरेको बारेमा बिभिन्न अनुसन्धान भए पनि निष्कर्ष भने निस्किसकेको छैन ।
तर सर्ने सम्भावना आँकलन गरेर चीनमा गत फागुनमा करिब ८४ हजार करोड पैसा नष्ट गरिएको थियो ।
अध्ययन अनुसार तरकारी बजार, मासु पसल, पेट्रोल पम्प, जुत्ता सिलाउने पसल, सार्वजनिक यातायातमा कारोबार गरिने नोट र माग्ने व्यक्तिहरूसँग भएको नोटमा शतप्रतिशत जीवाणु हुन्छन् ।
त्यसैले नोटको कारोबार गरिसकेपछि मिचिमिचि हात धुनु नै कोरोना सङ्क्रमणको जोखिमबाट बच्ने उपाय हो ।
सरुवा रोग विशेषज्ञ डाक्टर पुनले भन्नुभयो, ‘जे चलाएपनि, जे छोएपनि त्यो अन्त्यमा गएर हात राम्रोसँग धुनुपर्ने अवस्था भएकाले त्यो एकपटक प्रयोग गरिसकेपछि एकपटक हात राम्रोसँग धुँदाखेरी राम्रो हुन्छ ।’
पैसामा भाइरस, ब्याक्टेरिया, सामान्य कीटाणु, ढुसीलगायत तीन हजारभन्दा बढी प्रकारका कीटाणु पाइन्छन् । अध्ययनबाट बैङ्कबाट निकालिएको पैसामा मात्रै आठ प्रकारका ब्याक्टेरिया हुने प्रमाणित भइसकेको छ ।
यस्ता भाइसरका जिवाणु करिब दुई सातासम्म जीवित रहन सक्छन् । मास्टर कार्डको अध्ययनले भन्छः शौचालय र जुत्ताको तलुवामा भन्दा पनि बढी भाइरस पैसामा हुन्छ ।
कोभिड १९ ले विश्वव्यापी प्रभाब पारेपछि विश्वस्वास्थ्य संगठनले पनि पैसाबाट सर्ने जोखिम कम गर्ने उपाय अपनाउन यसअघि नै आग्रह गरिसकेको छ । सकेसम्म धेरै नगदी पैसाको कारोबार नगर्ने, गर्नै परे पैसा छोएपछि मिचिमिचि साबुनपानीले हात धुने गर्नुपर्छ ।
विकसित देशमा मेसिनले नै पैसामा भएको किटाणु हटाउने गरिन्छ । नेपालमा त्यो प्रबिधि आइनसकेकाले पैसा चलाएपछि आफैं सचेत बन्न चिकित्सकहरूको सुझाव छ ।
अडियो सुन्नुहोस् :
प्रकाशित मिति: आइतबार, चैत २३, २०७६, १४:२२