काठमाडौँ । कोरोनाको आशङ्कामा पछिल्लो २४ घण्टामा ८८ जनाको नमूना परीक्षण भएकोमा कसैमा सङ्क्रमण नभएको पाइएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अहिलेसम्म एक हजार पाँच सय २९ जनाको नमूना परीक्षण भएको जनाएको छ ।
हिजोसम्म कोरोनाको आशङ्कामा एक हजार चार सय ४१ जनाको नमूना परीक्षण भएको थियो । कोरोनाको आशङ्कामा भक्तपुरको खरिपाटी क्वारेन्टाइनमा रहेका ९४ जना सबैको नमूना नेगेटिभ अर्थात उनीहरूमा कोरोना नभएको पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकाटाले जानकारी दिनुभयो ।
कोरोना प्रभावित देशबाट आएका ९४ जना नागरिकलाई क्वारेन्टाइनका लागि भक्तपुरको खरिपाटीमा राखिएको थियो । काठमाडौँ उपत्यकाको विभिन्न अस्पतालमा १२ र उपत्यकाबाहिर एक सय एक जना आइसोलेसनमा रहेका पनि मन्त्रालयले जनाएको छ ।
प्रवक्ता देवकोटाका अनुसार धरान, पोखरा, जनकपुर, सुर्खेत, हेटौडा, धनगढी, बुटवल र र धुलिखेलबाट कोरोनाको परीक्षण सुरु भइसकेको छ भने चितवनमा आजबाट परिक्षण सुरु हुने छ ।
क्वारेन्टाइन अवधि पूरा गरेकाहरू अब स्वास्थ्य परीक्षणपछि मात्रै घर फर्कन पाउने भएका छन् । यसअघि क्वारेन्टाइनमा बसेकाहरू लक्षण नदेखिएपछि विनापरीक्षण घर जाने गरेकोमा अब स्वास्थ्य परीक्षण अनिवार्य गरिएको हो ।
कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले कोरोना भाइरसको प्रकोप फैलने खतरा बढेपछि विदेशबाट फर्किएकादेखि शङ्कास्पद बिरामीको सम्पर्कमा पुगेकासम्मलाई क्वारेन्टाइन अनिवार्य गरेको छ ।
क्वारेन्टाइनमा बसेका त्यस्ता व्यक्तिलाई १४ दिने अवधिमा पनि कुनै लक्षण नदेखिएमा घर पठाउने गरिएको थियो । तर, त्यसरी घर पठाइएका कैलालीका एक महिलामा कोरोनाको संक्रमण भेटिएपछि सरकारले यसमा समीक्षा गर्दै नयाँ व्यवस्था बनाएको हो ।
प्रकाशित मिति: सोमबार, चैत २४, २०७६, ०७:००