नोबेल कोरोना भाइर अर्थात कोभिड–१९ को सङ्क्रमण देखिएका ९ जना मध्य एकजना उपचारपछि घर फर्किएका छन् भने, उपचाररत ८ जनाको स्वास्थ्य अवस्था हालसम्म सामान्य रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । ८ मध्येका एक छैटौँ सङ्क्रमित, बागलुङका ६५ वर्षका महिलाले आत्मबल बढाएर कोरोनालाई जितेरै छाड्ने सीआईएनसँगको कुराकानीमा बताएकी छन् । उनीसँग राजन रुचालले गर्नुभएको कुराकानी जस्ताकोतस्तै यहाँ प्रस्तुत गरिएको छः
नमस्कार आमा !
नमस्कार !
कस्तो छ त अहिले तपईँलाई ?
मलाई एकदम सन्चै छ ।
अघि फोन ब्यस्त थियो, कता कुरा गर्दै हुनुहुन्थ्यो कुन्नि ?
अब कैले कताबाट, कैले कताबाट आको आइ छ ।
अनि अस्पतालमा बस्दा डाक्टरहरूले के भन्नुहुन्छ ?
डाक्टरहरूले त अब ज्वरो नाप्नुहुन्छ, जानुहुन्छ । ज्वरो छैन आमा भन्नुहुन्छ । प्रेसर बढेछ र प्रेसरको औषधि चलाउनु भइच । अनि दमको औषधि दिनु भइच । आज हस्पिटलमा आका नि चार दिन भए । मैले एउटो टब्लेट नि खाइछैन ।
एउटा पनि औषधि खानु भाछैन ?
अहँ, दमको र प्रेसरको खाएँ, मलाई प्रेसर बढेछ क्या, बेस्सरी टेन्सन् भर ।
तपाईँ बेल्जियमबाट फर्किँदाखेरी कोसँग आउनुभयो ?
एउटो नानी आको हो । त्यो नानीलाई त सात दिनमा हो कि पाँच दिनमा ज्वरो आको हो का, यहीँ छ का त्यो नानी पनि । भेटघाट हामी हुन्नम ।
तपाईँहरू बाटोमा सँगै आउँदाखेरी कहाँकहाँ सँगै बस्नुभयो कि, सँगै खानु भयो कि ? के के गर्नुभयो त ?
हैन, आउन त सँगै आइयो । मैले त्यो एयरपोर्टमा केही पनि खाइन बाबु । केही खाइन का । एकठाँ कफी चिया खाएँ र एउटो पाउरोटी खाएँ ।
एउटै सिटमा पनि बस्नुभयो होला गाडीमा ?
अँ, गाडीमा त बस्सियो का । वल्तिरपल्तिर त बसियो नि । सिट त एउटै भयो नि ।
अनि त्यसैगरी सरेछ भन्छन् डाक्टरहरूले ?
त्यसरी सरेछ पनि भन्नुभछैन मलाई । किलेर कुरो पनि छैन । रिकर्ड नराम्रो आयो भन्ने कुरोले मात्रै म हस्पिटल आर बसिचु हैन । मलाई त्यो रोग सरिच भन्ने विश्वासै छैन अहिलेसम्म । एउटो औषधि टब्लेट खाइछैन । ज्वरो आछैन । क्यै अर्याछैन ।
देशभरिका मान्छेलाई कसरी जोगिनुस् भन्न चाहानु हुन्छ त तपाईँ ?
मलाई सन्चो होला । म आत्मबल बनाएँ । म एक्लै बसे पनि म डराइन । मलाई यो रोग लाग्यो भनेर मैले हिक्मत हारिन । म यस्तो रोगी मान्छे । म यस्तो मान्छे त सन्चो भएँ, केही हुन्न होला भनेर आत्मबल बनाइछु भने त्यसैगरी गर्नुस् भन्चु ।
जसलाई कोभिड १९ लागेकै छैन, उनीहरूलाई कसरी सुरक्षित हुनुस् भन्नुहुन्छ ?
अँ नलागेका त सुरक्षित भएर बस्नुपरोन्तो । डुल्न भएन । घुम्न भएन । बाहिरबाट आउने मान्छेलाई भेट्न जान भएन । हामी पो अब बुद्धि भएन । बाबु काठमाण्डुबाट जब हाम्लाई जरो चेक गरो नि ।
त्याँबाट जरो नापेर छोडिदए । जरो नापेर छोड्दिएपछि पनि घरमा गएर क्वारेन्टाइनमा बस्नु है भन्य भए घरआएर नि अलगै बसिन्थो ।
त्यसो पनि भनेनन् ?
त्यो पनि भनेन् । अब तो १० दिनपछि बल्ल त्यसरी बस्नु भनेपछि बल्ला थाहा भो बाबु ।
हुन्छ आमा । तपाई चाँडै सन्चो हुनुहोस् ।
हाँसो ।
नआत्तिनुस् ।
हजुरले मलाई फोन गर्नुहोला । म अस्पताल बसे पनि घरमा बसे पनि मेरो नम्बर यही हो, धन्यवाद है बाबु ।
हुन्छ आमा नमस्कार
ल ल । नमस्कार बाबु । नमस्कार ।
अडियो सुन्नुहोस्ः
प्रकाशित मिति: सोमबार, चैत २४, २०७६, ११:५९