काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा पूर्वसांसद गणेश पण्डितको निधन भएको छ । मंगलवार उहाँको हृदयघातबाट निधन भएको हो । आइतवारमात्र भरतमोहन अधिकारीको पार्थिव शरीरमा श्रद्धाञ्जली दिएर फर्किएका पण्डितको हृदयघातपछि उपचारका क्रममा निधन भएको हो । पण्डितको आज विहान करीब ११ः३० बजेतिरको समयमा निधन भएको हो । नुवाकोटको पञ्चकन्या गाउँपालिका कविलासस्थित महादेव मन्दिरको गुफामा जाने क्रममा उहाँलाई हृदयाघात भएको थियो ।
७२ वर्षीय पण्डित नुवाकोटको कविलास महादेव मन्दिरको गुफामा जाने क्रममा हृदयघात भएको पारिवारिक सदस्यले बताएका छन् ।
उपचारका लागि काठमाडौं ल्याउँदा ल्याउँदै बाटोमै प्राण गएको उहाँका भान्जा एवं चिकित्सक डाक्टर केदारनरसिंह केसीले जानकारी दिनुभयो । उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा ल्याइएपनि अस्पताल आउनु अगावै निधन भइसकेको चिकित्सकले जनाएका थिए ।
७२ वर्षीय नेता पण्डित नुवाकोट जिल्लाबाट २०४८ सालको प्रतिनिधि सभा निर्वाचनमा तात्कालीन नेकपा एमालेका तर्फबाट सांसदमा निर्वाचित हुनुहुन्थ्यो । स्वर्गीय पण्डितका तीन छोरा, तीन छोरी र श्रीमती छन् ।
प्रकाशित मिति: मंगलबार, फागुन २१, २०७५, १७:१४