काठमाडौँ । सरकारले लकडाउनको समयावधि आगामी वैशाखसम्म थप गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रीपरिषद्को बैठकले लकडाउनको समय दोस्रो पटक ८ दिन थप गर्ने निर्णय गरेको हो ।
कैलाली, कञ्चनपुरमा पछिल्लो समयमा भेटिएका नोबेल कोरोना भाइरस अर्थात कोभिड १९ सङ्क्रमित र उनीहरुका कारण जोखिममा रहेको जनसङ्ख्याका बारेमा समेत मन्त्रीपरिषद्मा समीक्षात्मक छलफल भएको एक मन्त्रीले सीआईएनसँग बताए ।
उनका अनुसार पछिल्ला सङ्क्रमितका गतिविधि यसअघि भीडभाडमा चलायमान रहेको पाइएका कारण सुदूरपश्चिममा थप सावधानी अपनाउने र जाँचमा तीव्रता दिनुपर्ने बारेमा मन्त्रिपरिषद् बैठकमा कुरा उठेको थियो ।
सरकारले पहिलो पटक थपेको लकडाउनको समयावधि भोलि राति १२ बजे सकिनेछ । मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैँकको गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त गर्ने र संसदको हिउँदे अधिवेशन अन्त्यको लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गर्ने निर्णय पनि गरेको छ ।
प्रकाशित मिति: सोमबार, चैत २४, २०७६, १६:१५