हजुरको रेडियो, रामेछाप ।
रामेछापमा ६५ जनालाई क्वारेन्टाइनमा राखिएको छ । १६ जना १४ दिन क्वारेन्टाइनमा बसेर घर फर्किएका छन् ।
अहिले गोकुलगंगा गाउँपालिकामा तीन, मन्थली नगरपालिकामा नौ, रामेछाप नगरपालिकामा २७, सुनापति गाउँपालिकामा १५, खाँडादेवी गाउँपालिकामा ६ र लिखुतामाकोशी गाउँपालिकामा पाँच जनालाई क्वारेन्टाइनमा राखिएको जिल्ला अस्पताल रामेछापका प्रमुख जितेन्द्र कुमार कर्णले जानकारी दिनुभयो ।
यि मध्ये ५७ जना होम क्वारेन्टाइनमा बसेका छन् । छिमेकी मुलुक भारत र अन्य विभिन्न देशबाट आएकाहरुलाई क्वारेन्टाइनमा राखिएको छ ।
लकडाउनमा यात्रु ओसार्ने एम्बुलेन्स रामेछाप प्रहरीको नियन्त्रणमा
नक्कली बिरामी बनाएर यात्रु ओसार्ने एउटा एम्बुलेन्सलाई रामेछाप प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको गोकुलगंगा गाउँपालिका–६ फर्पूको एम्बुलेन्सलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
काठमाडौँबाट ६ जना यात्रु लिएर आएको सो एम्बुलेन्ससहित चालकलाई आज प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रदेश नम्बर–३ ०–२२–०१ च २१६३ नम्बरको एम्बुलेन्सलाई जिल्ला प्रहरी कार्यालय रामेछापले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।
रामेछाप प्रवेश गर्ने क्रममा मन्थली नगरपालिकाको सेलघाटमा सो एम्बुलेन्सलाई प्रहरीले शंका लागि जाँच गरेको थियो ।
नक्कली बिरामीसहितको एम्बुलेन्स मन्थली छिर्न लागेको जानकारी सेलघाट प्रहरीले दिएपछि जिल्ला प्रहरी कार्यालय रामेछापको टोलीले एम्बुलेन्स र एम्बुलेन्स चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक बसन्त पाठकले जानकारी दिनुभयो ।
पाठकका अनुसार एम्बुलेन्स चालक बुद्ध तामाङ र एम्बुलेन्सलाई जिल्ला प्रहरी कार्यालय रामेछापमा राखि अनुसन्धान भइरहेको छ ।
प्रकाशित मिति: सोमबार, चैत २४, २०७६, १८:५९