रेडियो श्रीनगर, हुम्ला ।
नेपाल खाद्य संस्थान श्रीनगर डिपोको आज अनुगमन भएको छ ।
आज अदानचुली गाउँपालिकाका अध्यक्ष दल फडेरा सहित वडाअध्यक्षहरुको टोलीले श्रीनगर डिपोमा भएका ३ वटै गोदामको अनुगमन गरेको हो ।
अदानचुली गाउँपालिकाका स्थानीयले श्रीनगर डिपोमा भएको चामल अत्याधिक अमिलो भएको गुनासो गरेपछि गाउँपालिकाका अध्यक्षसहितको टोली अनुगमनमा गएको हो ।
जिल्ला प्रशासन कार्यालयमा समेत कुरा गरेर अमिलो भएको चामल तत्काल फिर्ता गर्न पहल गर्ने अनुगमनपछि अध्यक्ष फडेराले बताउनुभयो ।
श्रीनगर खाद्य डिपोमा भएको करिब १ सय ५० क्वीन्टल चामलमध्ये ३५ बोरा चामल बिग्रीएको देखिएकाले पुरानो हस्पीटलमा भएको गोदाममा छुट्याएर राखिएको डिपो प्रमुख राकृष्ण नन्दन सिंहले जानकारी दिनुभयो ।
गोदाममा भएको चामलमध्ये कुन अमिलो हो कुन खान लायकको छ भनेर छुट्याउने काम भइरहेकाले माथिल्लो गोदामहरुमा कति चामल अमिलो भएको छ भन्ने अहिले एकिन भन्न नसकिने उहाँको भनाइ छ ।
करिब १५० क्वीन्टल चामलमध्ये केही राम्रो केही अमिलो भएकाले अबको केही दिनमा सबै चामल छुट्याइसक्ने उहाँले बताउनुभयो ।
सोना मन्सुली चामलको बोरानै लेमिनेसन गरिएकोले चामल अमिलो भएको र अबदेखि यो चामल नेपाल खाद्य संस्थानले बन्द गरिसकेको भन्दै उहाँले अब सबै अरुवा मोटा चामल मात्र आउने बताउनु भयो ।
सडकसँगै जोडिएको घरमा भएको एकसय क्वीन्टल चामल भने अरुवा मोटा चामल भएकोले बजारमा रहेको गोदामको चामल सोना मन्सुली सकिए पश्चात बितरण गर्ने संस्थानले जनाएको छ ।
अनुगमनको क्रममा अदानचुली गाउँपालिकाका अध्यक्ष दल फडेराले कुहिएको अमिलो चामल कोही पनि नागरिकले नलिन अपिल गर्दै डिपो प्रमुखलाई यस्तो चामल बिक्रि बितरण नगर्न निर्देशन समेत दिनुभएको छ ।
प्रकाशित मिति: सोमबार, चैत २४, २०७६, २०:०४