प्रधानमन्त्री केपी शर्मा ओलीले आउने दुई हप्ता अझै मुलुकका लागि पीडादायी हुने बताउनुभएको छ । राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अबको दुईहप्ता कोभिड १९ अथवा कोरोना भाइरस नियन्त्रणको प्रयासमा दुईहप्ता अझै पीडादायी अवस्था झेल्नुपर्ने बताउनुभयो ।
सरकारको सबै ध्यान र शक्ति कोरोना भाइरसको संक्रमण फैलिन नदिन केन्द्रित गरेको पनि बताउनुभयो । उहाँले यो संकटमा सबले एकतावद्ध भएर सरकारसँग हातेमालो गर्न आह्वान गर्नुभयो ।
बाहिरबाट आएका संक्रमितबाट स्थानीयमा कोरोना संक्रमण सरेपछि दोस्रो चरणमा पुगेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले हामी थप जोखिममा रहेको बताउनुभयो । विदेशबाट आएकाहरुलाई क्वारेन्टाइनमा बस्न पनि उहाँले अपील गर्नुभयो । भारतबाट आएर सीमानामा रहेका २ हजार १ सय ४७ नेपालीलाई भारतमा नै राखिएको प्रधानमन्त्रीले जानकारी गराउनुभयो ।
उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वको उच्चस्तरीय समितिले कोरोनाविरुद्धका सबै कामको नेतृत्व गरिरहेको प्रधानमन्त्रीको भनाइ थियो।
स्थानीय तह र प्रदेश सरकारको भूमिका पनि यसबेला प्रभावकारी देखिएको प्रधानमन्त्रीको भनाइ थियो।
चिकित्सक, सुरक्षाकर्मीको प्रभावकारी भूमिका रहेको भन्दै प्रधानमन्त्रीले अझै जोखिमयुक्त क्षेत्रमा काम गर्नेको भूमिका अहम रहने बताए।
प्रकाशित मिति: मंगलबार, चैत २५, २०७६, ११:००