धादिङ ।
जातीगत हिसाबले चेपाङ जातीको बाहुल्य रहेकोे तेस्रो जिल्ला हो, धादिङ । २०६८ सालको राष्ट्रिय जनगणना अनुसार धादिङमा चेपाङ समुदायको जनसंख्या १४ हजार ४ सय ९२ छ ।
अशिक्षा, गरिबी, अन्धविश्वासका कारण अति सिमान्तकृत चेपाङ समुदाय, अन्य समुदाय भन्दा धेरै पछि रहेको तथ्याङ्कले देखाउछ । दक्षिणी धादिङको बेनिघाटरोराङ, गजुरी लगायतका गाउँपालिकाहरुमा चेपाङ जातीको बसोबास छ ।
जङ्गलको कन्दमुल, गीट्ठा, भ्याकुर खाएर जीवन निर्वाह गर्ने चेपाङहरुको जीवनशैलीमा पछिल्लो समयमा भने केहि परिवर्तन आएको छ । जीवनशैलीमा केहि परिवर्तन आएको भएपनि स्वास्थ्य, शिक्षा लगायतका आधारभूत आवश्यकताबाट भने चेपाङ समुदाय अझै पर छन् ।
अन्धविश्वास, अशिक्षा र गरिबीकै कारण चेपाङ समुदायमा गर्भवती महिला र शिशु मृत्युदर धेरै छ । सानो उमेरमा गरिने विवाह, भगवानले दिएको भन्दै धेरै बच्चा जन्माउने प्रचलन नै मातृशिशु मृत्युदर बढ्नुको मुख्य कारण हुन् ।
अन्धविश्वास र स्वास्थ्य शिक्षा अभावका कारण गर्भवती चेपाङ महिलाहरु घरमै सुत्करी हुने गर्दछन् । तर वेनिघाट रोराङ गाउँपालिका वडा नम्बर २ की २० वर्षिया सिर्जना चेपाङ भने चैत्र २२ अर्थात् शनिबार धादिङ अस्पतालमा आएर सुत्केरी हुनुभएको छ ।
सुत्केरी गराउन सिर्जनाको परिवारले सिर्जनालाई धादिङ अस्पतालमा भर्ना गरेका थिए । धादिङ अस्पतालमा चेपाङ महिलाले बच्चा जन्माएको यो नै पहिलो घटना हो ।
‘यो भन्दा अघि धादिङ अस्पतालमा चेपाङ महिला सुत्केरी भएको तथ्याङ्क छैन, धादिङ अस्पतालका सूचना अधिकारी विक्रम विकले भन्नुभयो, ‘उहाँ नै पहिलो चेपाङ महिला हुनुहुन्छ ।’
नर्मल डेलिभरी नभएपछि शल्यक्रिया गरि बच्चा निकालिएको विकले बताउनुभयो । सिर्जनाले चैत्र २२ गते राती १० बजेर १ मिनेट जाँदा शिशुलाई जन्म दिनुभएको हो । अस्पतालका अनुुसार शिशुको तौल २६ सय ग्राम छ । अहिले आमा र बच्चाको स्वास्थ्य अवस्था राम्रो रहेको पनि अस्पतालले जानकारी दिएको छ ।
गएको वर्ष माघमा स्थानीय राजकुमार चेपाङसँग विवाह गर्नुभएकी सिर्जनाले पहिलो सन्तानको रुपमा धादिङ अस्पतालमा बच्चा जन्माउनु भएको हो ।
अस्पतालमा सुत्केरी भए वापत नेपाल सरकारले उपलब्ध गराएको २ हजार ८ सय रुपैयाँ सुत्केरी भत्ता पनि प्रदान गरि आज अस्पतालले डिस्चार्ज गरेको छ ।
पहिलो पटक अति सिमान्तकृत चेपाङ महिलाले धादिङ अस्पतालमा आएर सुत्केरी गराएको भन्दै धादिङ अस्पतालले शल्यक्रिया गर्दा लाग्ने खर्च, औषधी लगायतका खर्च निःशुल्क गरेको धादिङ अस्पतालका सूचना अधिकृत विकले जानकारी दिनुभयो ।
यस्तै अस्पतालले सुत्केरी सिर्जना चेपाङलाई घर सम्म पु¥याउन एम्बुलेन्सको समेत व्यवस्था गरेको विकले जानकारी दिनुभयो ।
धादिङ अस्पतालमा एकै दिन ३ जनाको अप्रेशन
धादिङ अस्पतालले एकैदिन तीन जना गर्भवती महिलाको सफल अप्रेशन समेत गरेको छ ।
लकडाउनका कारण प्रसव पीडामा रहेका गर्भवती महिलाहरुको स्वास्थ्यलाई मध्येनजर गरेर जिल्लामै पहिलो पटक एकैदिन तीन जनाको अप्रेशन गरिएको अस्पतालका सूचना अधिकारी विक्रम विकले जानकारी दिनुभयो ।
मंगलबार धादिङका २२ बर्षीया मेलिना तामाङ, २८ बर्षीया बबिता सिङ्खडा र १८ बर्षीया सुसना गुरुङ्कको २÷२ घन्टाको अन्तरालमा धादिङ अस्पतालले लगातार सफल अप्रेशन गरेको विकले बताउनुभयो ।
धादिङ अस्पतालमा दैनिक ३ जना महिला सुत्केरी हुन्छन्
धादिङ अस्पतालमा अहिले दैनिक ३ जना महिला सुत्केरी हुने गरेको धादिङ अस्पतालले जनाएको छ ।
अस्पतालले प्रदान गर्दै आएको गुणस्तरीय सेवा र अस्पतालमा सुत्केरी हुँदा हुने फाइदाको विषयमा सचेतना फैलिएकै कारणले अस्पतालमा सुत्केरी गराउनेको संख्या बढेको सूचना अधिकारी विकले दाबी गर्नुभयो ।
प्रकाशित मिति: बुधबार, चैत २६, २०७६, २०:१४