काठमाडौँ । नेपालमा नोबेल कोरोना भाइरस अर्थात कोभिड १९ को बारेमा नागरिकलाई नियमित जानकारी दिने सबभन्दा प्रभावकारी माध्यम रेडियो बनेको छ ।
शेयरकाष्ट ईनिशियटिभ नेपालले गरेको ‘नेपाल मिडिया सर्वेक्षण २०२०’ ले कोभिड १९ का बारेमा नागरिकलाई सूचना पाउने प्रभावकारी माध्यममा रेडियो रहेको देखाएको हो ।
सर्वेक्षणमा सहभागीमध्ये ६७ दशम्लव ३ प्रतिशतले रेडियोबाट नै कोरोनाका बारेमा नियमित जानकारी पाइरहेको जवाफ दिएका छन् । टेलिभिजनबाट जानकारी लिनेको सङ्ख्या भने ६२ दशम्लव ७ प्रतिशत छ ।
सर्वेक्षणमा सहभागी ४ हजार ८ सय ३० जना उत्तरदातामध्ये पुनः ‘जथाभावी छनौट’ विधिबाट १५ सय नागरिकलाई कोभिड १९ का बारेमा प्रश्न सोधिएको शेयरकाष्टका प्रमुख मधु आचार्यले सीआईएनसँग बताउनुभयो ।
उहाँका अनुसार पत्रपत्रिकाबाट कोरोनाका बारेमा जानकारी लिनेको सङ्ख्या शून्य दशम्लव ७ प्रतिशत, अनलाइनबाट ११ दशम्लव ६, फेसबुकबाट २५ दशम्लव ९ प्रतिशतले जानकारी पाएको बताएका छन् ।
सामाजिक सञ्जालमध्ये सबैभन्दा धेरैले फेसबुकबाट कोरोनाका बारेमा जानकारी लिने गरेको बताएका थिए ।
७ दशम्लव ९ प्रतिशतले युट्युबबाट, शून्य दशम्लव ७ प्रतिशतले ट्विटरबाट, १९ दशम्लव ६ प्रतिशतले साथीभाइबाट, ११ दशम्लव ४ प्रतिशतले परिवारका सदस्यबाट र ३ दशम्लव ५ प्रतिशतले स्वास्थ्यकर्मीबाट कोरोनाको बारेमा जानकारी लिने गरेको पनि अध्ययनले देखाएको छ ।
सर्वेक्षणमा ९८ दशम्लव ६ प्रतिशतले कोरोना भाइरसबाट आफू र आफ्ना परिवारका सदस्यलाई कसरी बचाउने भन्ने बारेमा जानकारी भएको बताएका छन् भने १ दशम्लव ४ प्रतिशतले कुनै जानकारी छैन भनेका छन् ।
सर्वेक्षणका क्रममा कोरोना भाइरसबाट कसरी बच्ने भन्ने प्रश्नमा ९० प्रतिशतले बेलाबेलामा साबुन पानीले हात धुने वा स्यानिटाइजरले हात धुने जवाफ दिए भने मास्क लगाएर कोरोना सर्दैन भन्नेको सङ्ख्या ७५ दशम्लव १ प्रतिशत पाइएको छ ।
८६ दशम्लव ३ प्रतिशतले भने भीडभाडबाट टाढा रहेमा कोरोना लाग्दैन भनेका छन् । ४ दशम्लव ३ प्रतिशतले भने शाकाहारी बन्दा वा मासु नखाँदा कोरोना सर्दैन भन्ने जवाफ दिएका छन् ।
सर्वेक्षणमा सहभागी मध्ये ५१ दशम्लव ४ प्रतिशतले आफूमा कोरोना भएको शङ्का लागेमा स्वास्थ्य संस्था जाने बताएका छन् भने अस्पताल जान्छु भन्नेको सङ्ख्या ५० प्रतिशत छ । तर ९ दशम्लव १ प्रतिशतले भने आफूमा कोरोना भएको शङ्का लागे वडाअध्यक्ष कहाँ जान्छु भनेका छन् ।
कोरोना रोकथाम र नियन्त्रणका लागि स्थानीय सरकारबाट गरिएका कामकारबाहीमा ६२ दशम्लव ८ प्रतिशतले सन्तुष्ट छु भने पनि ९ दशम्लव ४ प्रतिशतले सन्तुष्ट छैन भनेका छन् ।
लकडाउन सुरु हुनअघि खाद्यान्न तथा तरकारी किनेर तयारी गरेको बताए पनि ४३ दशम्लव ६ प्रतिशतले खासै तयारी थिएन भन्ने जवाफ दिएका थिए । सर्वेक्षणमा सहभागी ६८ दशम्लव २ प्रतिशतले भने स्थिति सामान्य नहुँदासम्म लकडाउन खोल्ननहुने विचार राखेका छन् ।
६४ दशम्लव ४ प्रतिशतले आफू र आफ्नो परिवारका सदस्य कोरोनाको माहामारीमा परिन्छ कि भन्ने डर लागेको बताएका छन् भने डर लागेको छैन भन्नेको सङ्ख्या ३५ दशम्लव ६ प्रतिशत पाइएको छ ।
गएको माघ र फाल्गुण महिनामा नेपालको सात वटा प्रदेशका ४७ वटा जिल्लामा बसोबास गर्ने नेपालीको प्रतिनिधित्व हुने गरी “पिपिएस विधि“ को प्रयोगबाट सर्वेक्षण गरिएको थियो ।
प्रकाशित मिति: शनिबार, चैत २९, २०७६, ०९:२७