काठमान्डौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने वर्ष क्रिकेट खेलाडी बन्नु भएको छ । क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले आयोजना गरेको ‘एनसीसीएस–सिप्यान क्रिकेट अवार्ड’ मा सन्दीप उत्कृष्ट चुनिंदै ’बर्ष क्रिकेट खेलाडी’ बन्नुभयो ।
अवार्ड जित्ने क्रममा लेग स्पिनर सन्दीपले कप्तान पारस खड्का, दिपेन्द्र सिंह ऐरी, करण केसी र सोमपाल कामीलाई पछि पार्नुभयो ।
बर्ष क्रिकेट खेलाडी अवार्डसँगै सन्दीपले नगद १ लाख ३२ हजार रकम प्राप्त गर्नुभएको छ । सन्दीप अहिले पाकिस्तान सुपर लिगका लागि दुबईमा हुनुहुन्छ । सन्दीपको अवार्ड नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्कालाई प्रदान गरिएको छ ।
नेपाली क्रिकेटको ग्लोबल आईकन सन्दीपले विश्व क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरिरहनुभएको छ । नेपाली राष्ट्रिय क्रिकेट टोली र टी–ट्वान्टी फ्रेन्चाइज लिगमा सन्दीपको प्रदर्शन राम्रो छ ।
तीन वर्षअघि नेपाली टोलीमा डेब्यु गर्नुभएका सन्दीपले आईपीएलपछि क्यारिबियन प्रिमिएर लिग (सिपिएल), बिग बास लिग, क्यानाडाको ग्लोबल टी–ट्वान्टी, अफगानिस्तान प्रिमियर लिग, बंगलादेश प्रिमियर लिग लगायतका लिगमा आफ्नो प्रदर्शन देखाइसक्नुभएको छ ।
महिलातर्फको वर्ष खेलाडी अवार्ड राष्ट्रिय टोलीका सदस्य सिता राना मगरले हात पार्नुभयो । अवार्डसँगै सिताले ६६ हजार नगद पुरस्कार प्राप्त गर्नुभयो ।
वर्ष महिला क्रिकेट खेलाडी जित्ने क्रममा सिताले नेपाली टोलीका कप्तान रुबिना क्षेत्री बेल्बासे, इन्दु बर्मा, करुणा भण्डारी र सरिता मगरलाई पछि पार्नुभयो ।
उदयमान क्रिकेट खेलाडीको अवार्ड भने नेपाली टोलीका सदस्य रोहित कुमार पौडेलले प्राप्त गर्नुभयो । अवार्डसँगै रोहितले ६६ हजार नगद पुरस्कार प्राप्त गर्नुभयो ।
यस्तै नेपाली राष्ट्रिय टोलीका सदस्य करण केसीले वर्षको उत्कृष्ट क्षण अवार्ड जित्नुभएको छ । मनोनयनमा परेको १० क्षणहरु मध्ये सर्वाधिक मत प्राप्त गर्दै करण वर्षको उत्कृष्ट क्षण घोषित हुनुभएको हो । वर्षको उत्कृष्ट क्षण अवार्डसँगै करणले ६६ हजार नगद पुरस्कार पाउनुभयो ।
यस्तै पुर्व क्रिकेटर कोमल बहादुर पाण्डेलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको छ ।
प्रकाशित मिति: मंगलबार, फागुन २१, २०७५, १७:४४