काठमाडौँ । अहिलेको गति हेर्दा जुलाई अन्त्यसम्म ३० देखि ५० करोड भारतीय कोरोना भाइरसबाट सङ्क्रमित हुनेछन् र ती मध्ये १० प्रतिशत अर्थात करिब ५ करोडमा गम्भीर असर देखिनेछ ।
भारतीय मूलका अमेरिकी अर्थशास्त्री तथा महामारीविज्ञ रामानन लक्ष्मीनारायणले केही विज्ञहरूको सहायतामा यस्तै सम्भावित तथ्याङ्कसहितको अध्ययन सार्वजनिक गर्नुभएको छ ।
अप्रिल अन्तिम अथवा नेपाली महिना अनुसार वैशाखको १५ तिर र जेठ महिनाको सुरुको समय प्रकोपले विकराल रूप लिने प्रक्षेपण गरिएको छ ।
नेपालले क्षेत्रगत हिसावले सम्भावित जोखिमका ठाउँहरू आँकलन गरिरहेको छ । लकडाउनको आज १६ औँ दिन हो ।
अहिले ९ जना कोरोना सङ्क्रमित बिरामीको पहिचान भएको छ । सङ्क्रमित ९ जनालाई आधार मान्दा क्षेत्रगत हिसावले काठमाडौँ, बागलुङ, कैलाली, कञ्चनपुरमा जोखिमको देखिन्छ ।
सरकारले धेरैभन्दा धेरै मान्छेको परीक्षणलाई तीव्र नपार्दा, सङ्क्रमितसँग यात्रामा रहेका, भेटघाट गरेको सबैको पहिचानसहित परीक्षण भइनसक्दा कुनै पनि बेला जोखिम आउन सक्ने आँकलन गरेको छ ।
काठमाडौँमा देखिएका १ जना निको भए, अर्का एकजनाको उपचार भइरहेको छ । स्वास्थ्य सामान्य छ । बागलुङमा दुईजना विदेशबाट आएकामा सङ्क्रमण देखिएको हो । दुवैको उपचार भइरहेको छ ।
कैलालीमा विदेशबाट आएका व्यक्तिबाट आफन्त पनि सङ्क्रमित भए । त्यसबाहेक यो क्षेत्रमा अन्य ३ जना पनि सङ्क्रमित देखिए । अहिले सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी ४ जना सङ्क्रमित छन् ।
सङ्क्रमण देखिएको प्रदेशका हिसावले गण्डकी र सुदूरपश्चिम जोखिममा छन् । तर सङ्क्रमण नदेखिए पनि कर्णाली प्रदेश, ५ र २ नम्बर प्रदेशलाई पनि सरकारले जोखिममा राखेको छ ।
स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा.खेम कार्कीले राजधानी उपत्यकाकामा कम जोखिम रहेको तर बाहिर धेरै जोखिम रहेको सीआईएनसँग बताउनुभयो ।
जिल्लागत रूपमा अहिले सरकारले कञ्चनपुर, कैलाली र बागलुङ मात्र होइन, अछाम, डोटी पनि जोखिम क्षेत्रमा रहेको जनाएको छ । दुईजना सङ्क्रमित देखिए पनि सरकारले काठमाडौँलाई कम जोखिमको क्षेत्रमा राखेको छ ।
गम्भीर अध्ययन छैन
सरकारले धेरैभन्दा धेरै मान्छेको परीक्षणलाई तीव्र नपार्दा, सङ्क्रमितसँग यात्रामा रहेका, भेटघाट गरेको सबैको पहिचानसहित परीक्षण भइनसक्दा कुनै पनि बेला जोखिम आउन सक्ने आँकलन गरेको छ ।
कुनैबेला ग्रीन जोन अर्थात सुरक्षित क्षेत्र मानिएको नेपालमा अहिलेसम्म कोरोना सङ्क्रमणको बारेमा गम्भीर अध्ययन भएको छैन ।
प्रकाशित मिति: शनिबार, चैत २९, २०७६, १३:४२