काठमाडौँ । विक्रम संवत् २०७७ साल आजबाट सुरु भएको छ । नयाँ वर्षको अवसरमा नेपालभर र नेपालीभाषीको बसोबास भएका मुलुकमा एकापसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ ।
वैशाख १ गतेलाई नयाँ वर्षका रूपमा हर्षोल्लासका साथ मनाउने गरिन्छ ।
होटल, रेष्टुरेन्ट, पार्कलगायतका स्थानमा भेला भएर नयाँ वर्ष मनाउने प्रचलन रहेको भए पनि यस वर्ष भने नोबेल कोरोना भाइरस अर्थात कोभिड १९ नियन्त्रणका लागि सरकारले आह्वान गरेको बन्दाबन्दीका कारण घरभित्रै बसी सामान्य अवस्थामा नयाँ वर्ष मनाउनुपर्ने अवस्था सिर्जजना भएको छ ।
कोभिड १९ को जोखिम नियन्त्रणका लागि सरकारले अत्यावश्यक कामबाहेक घरबाट ननिस्कन भनेको छ । यसअघि वैशाख १ गतेका दिन पशुपतिनाथ मन्दिरमा लाखौँ भक्तजनको भीड लाग्ने गरेकोमा यसपाली भने मन्दिर परिसर वरपर सुनसान देखिएको छ ।
पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा प्रदीप ढकालले मानसिक रूपमा पशुपतिनाथको कल्पना गरी नयाँ वर्ष मनाउन आग्रह गर्नुभयो ।
नेपालको मौलिक संवत् मानिने विक्रम संवत्को आफ्नै महत्व र वैज्ञानिकता भएको ज्योतिषविद् बताउँछन् । सरकारी कामकाजमा विसं. चलाउने नेपाल एक मात्र मुलुक हो ।
यो संवत्का आरम्भकर्ता विक्रामादित्य हुनुहुन्छ । ज्योतिष पं. दीपक सुवेदीले यो संवत् सूर्यको गतिका आधारमा तय भएकाले यसको विशेष वैज्ञानिकता पुष्टि भइकेकाले बताउनुभयो ।
सूर्यले ३ सय ६० डिग्री पूरा गरेर ० डिग्रीमा प्रवेश गरेका आधारमा यो संवत् सुरु हुने मानिन्छ ।
प्रकाशित मिति: सोमबार, वैशाख १, २०७७, १०:५८