काठमाडौँ । नेपालमा नोबेल कोरोना भाइरस अर्थात कोभिड १९ सङ्क्रमित व्यक्तिको सङ्ख्या १४ पुगेको छ । आज थप २ जना कोरोना सङ्क्रमित भेटिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिनुभयो ।
कैलालीकी एक ६५ वर्षीया र रौतहट जिल्लाको क्वारेन्टाइनमा रहेका एक १९ वर्षका युवामा पनि कोरोना सङ्क्रमण भएको पाइएको देवकोटाले बताउनुभयो । हिजो मात्र तीन जना भारतीय नागरिकमा कोरोनाको सङ्क्रमण देखिएको थियो ।
अहिलेसम्म ५ हजार ६ सय ९१ जनाको कोरोना भाइरस परीक्षण गरिएको पनि प्रवक्ता देवकोटाले जानकारी दिनुभयो ।
उहाँका अनुसार अहिलेसम्म काठमाडौँ उपत्यकाभित्र ९ जना र उपत्यकाबाहिर ९४ जना गरेर १ सय ३ जना आइसोलेसनमा छन् । देशभर ७ हजार १ सय ६६ जना मानिस क्वारेन्टाइनमा रहेको पनि मन्त्रालयले जनाएको छ ।
कैलालीको लम्कीचुहा नगरपालिका १ का एक महिलालाई क्वारेन्टाइबाट घर फर्केपछि कोरोना सङ्क्रमित भएको पाइएको छ ।
सुरुमा दु्रत परिक्षणका क्रममा कोरोना नभएको पाइए पनि पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना देखिएपछि उनलाई सेती अस्पतालको एम्बुलेन्समा धनगढी पठाइएको लम्कीचुहा नगरपालिकाले जनाएको छ ।
उनी वीरगञ्जमा चिया पसल गरेर बस्ने गरेको खुलेको छ । केही दिनअघि मात्रै ती महिला कैलाली पुगेकी थिइन् । यससँगै सुदूरपश्चिममा सङ्क्रमितको सङ्ख्या पाँच पुगेको छ । धनगढीका तीन र कञ्चनपुरका एक सङ्क्रमितको पनि सेती अस्पतालमा उपचार भइरहेको छ ।
उनीसहित १७ जनाको टोलीलाई ¥यापिड डाइग्नोस्टिक टेस्टमा नेगेटिभ देखिएपछि लम्कीचुहा बहुमुखी क्याम्पसको क्वारेन्टाइनबाट हिजो साँझ घर पठाइएको थियो ।
तर, आज बिहान उनी कोरोना सङ्क्रमित भएको खबर आएको लम्की चुहाँ नगरपालिकाका प्रमुख महादेव बजगाइले जानकारी दिनुभयो ।
प्रकाशित मिति: सोमबार, वैशाख १, २०७७, १८:३२