काठमाडौँ । नोबले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको परिस्थितिमा संसदले कस्तो भूमिका निर्वाह गर्ने भन्ने विषयमा छलफल गर्न सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएको छ ।
आज दिउँसो एक बजेका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको संघीय संसद सचिवालयका कार्यवाहक महासचिव गोपालनाथ योगीले जानकारी दिनुभयो ।
संसदीय समितिले बैठकका लागि अनुमति मागिरहेको अवस्थामा कसरी व्यवस्थित किसिमले बैठक बोलाउने भन्नेबारे पनि कार्यव्यवस्था परामर्श समितिमा छलफल गर्ने तयारी भइरहेको सभामुखको सचिवालयले जनाएको छ ।
सरकारले चीनबाट खरिद गरेका स्वास्थ्य सामग्रीमा अनियमिततालगायतका विषयमा छलफल गर्नुपर्ने भन्दै समितिका सभापतिहरूले सभामुखबाट अनुमति मागेका थिए ।
सभापतिले संसदमा बैठक बस्न नसके पनि भिडियोमार्फत भए पनि बैठक बसेर सरकारलाई आवश्यक सुझाव र निर्देशन दिने भनेका थिए ।
समिति सभापतिहरूको मागपछि सभामुख सापकोटाले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेसँग छलफल गनुृभएको थियो ।
जेठ १५ मा बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था रहेको त्यसपहिले प्रि–बजेट छलफल गर्नुपर्ने भएकाले पनि कार्यव्यवस्था परामर्श समिति बैठकमा यसबारे कसरी जाने भन्ने छलफल हुने बताइएको छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख २, २०७७, ०९:०१