काठमाडौँ । सरकारले सामाजिक सुरक्षा कोषमा आवद्ध रोजगारदाता कम्पनी र तिनमा कार्यरत श्रमिक तथा कर्मचारीको चैत महिनाको तलब करिब १९ करोड रुपैयाँ जम्मा गरिदिएको छ ।
सरकारले रोजगारदाता कम्पनी र श्रमिकका तर्फबाट सामाजिक सुरक्षा कोषमा चैत महिनामा जम्मा गर्नुपर्ने योगदान रकम जम्मा गरेर रोजगारदाता र श्रमीकले राहत प्रदान गरेको हो ।
आठ सय ६१ रोजगारदाता कम्पनी र तिनमा कार्यरत ३३ हजार चार सय श्रमिक तथा कर्मचारीले कोषमा जम्मा गर्नु पर्ने १८ करोड ६६ लाख रुपैयाँ जम्मा गरेर राहत प्रदान गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मातहतको सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिलमणी ज्ञवालीले सीआइएनलाई जानकारी दिनुभयो ।
कोषमा आवद्ध रोजगारदाता कम्पनीले सरकारबाट १२ करोड र श्रमिक तथा कर्मचारीले करिब ६ करोड ६६ लाख करोड राहत पाएका उहाँले बताउनुभयो ।
कोषमा श्रमिक तथा कर्मचारीको न्यूनतम मासिक तलबबाट ११ प्रतिशत, निजी तथा गैरसरकारी क्षेत्रका रोजगारदाताका तर्फबाट २० प्रतिशत गरी ३१ प्रतिशत रकम हरेक महिनामा जम्मा गर्नुपर्ने कानुनी व्यवस्था छ ।
३३ हजार ४ सय श्रमिक तथा कर्मचारी र तिनका रोजगारदाताले कोषमा जम्मा गर्नुपर्ने योगदान रकम सरकारले घोषित राहत कार्ययोजनाअनुसार जम्मा गरिदिएको हो ।
कोभिड–१९ को विश्वव्यापी महामारीको सङ्कट लम्बिएमा सरकारले कोषमा आवद्ध रोजगारदाता कम्पनी र श्रमिक तथा कर्मचारीलाई यस्तो राहत प्रदान गर्दै जाने कोषले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, वैशाख ३, २०७७, १०:२७