अमेरिकामा हालसम्म ६ लाखभन्दा धेरै नागरिकमा नोबले कोरोना भाइरस अर्थात कोभिड १९ देखिएको छ भने मृत्यु हुनेको सङ्ख्या २६ हजार पुग्न आँटेको छ । उपचारपछि निको हुनेको सङ्ख्या ४९ हजारभन्दा माथि रहेको छ । कोभिड १९ बाट त्यहाँ रहेका नेपाली पनि जोखिममा छन् । सङ्क्रमितमध्येका एक ३८ वर्षका नेपालीसँग साथी राजन रुचालले कुराकानी गर्नुभएको छः
अहिले कस्तो छ ? तपाईँलाई ?
अहिले मलाई ठीक छ । आज दस दिन भइसक्यो । ठीक छ ।
अहिले तपाईँ कुन अस्पतालमा हुनुहुन्छ कि घरमा हुनुहुन्छ ?
अहिले म घरमै छु । मेरो डक्टरसँग कुरा गर्दाखेरी उहाँले ‘तपाईँलाई सास फेर्न गाह्रो भयो भने वा स्वासप्रश्वासमा समस्या भएमा मात्र अस्पताल भर्ना हुनुपर्छ । नत्र भने घरमै आराम गर्न’ सुझाव दिनुभएको छ । स्वासप्रस्वाससम्बन्धी समस्या देखिएन, त्यसैले होमक्वारेन्टाइनमा बस्न भन्नुभएको छ ।
तपाईँमा कोभिड १९ भएको बारेमा कहिले थाहा भयो ?
सन् २०२० को अप्रिल ४ मा मचाहिँ काममा गएको थिएँ । होल फुड कम्पनीमा म काम गर्छु । अनि त्यहाँ कामबाट राति घर फर्किँदा कामज्वरो आयो । त्यसपछि सामान्य फ्लुमात्र होला भनेर मैले पनि खासै वास्ता गरिँन ।
५ र ६ तारिखममा मलाई लगातार ज्वरो आयो । त्यसपछि मलाई कोभिड १९ भएको हो कि भन्ने शङ्का लाग्यो । त्यसपछि मैले मेरो पारिवारिक डाक्टरलाई फोन गरेँ ।
‘मलाई २ दिनदेखि ज्वरो आएको छ, के गरुँ ?’ भने । त्यसपछि उहाँले ‘ठीक छ । म तपाईँको समय मिलाउँछु । ३ घण्टापछि आउनुस् ।’
भन्नुभयो । त्यसपछि नजिकैको स्वास्थ्य संस्था प्राथमिक हेरचाहा भन्ने संस्थामा जचाउन गएको थिएँ । त्यसको पर्सिपल्ट उहाँहरूले ‘तपाईँलाई कोभिड १९ छ ।’ भनेर फोन गर्नुभएको थियो ।
कोभिड १९ भएको थाहा पाउनेवित्तिकै कस्तो महसुस हुँदो रहेछ ?
अलिकति डरचाहिँ लाग्दो रहेछ । किन कि यसैको वरिपरि विश्व घुमिरहेको छ । टिभि, रेडियो, पत्रपत्रिका जता पनि यसैका बारेमा समाचार आउने गरेका बेलामा, यसको उपचारै छैन, औषधि छैन भन्ने गरेको बेलामा सुरुमा म पनि विचलित भएको थिएँ ।
कोभिड १९ लाई जित्न सकिन्छ भन्ने आत्मविश्वास जगाउनका लागि त्यसपछि के कस्तो उपाय अपनाउनुभयो ?
त्यसपछि मैले समाचार पढ्न थालेँ । मृत्युदरको बारेमा जानकारी लिन थालेँ । ६० वर्षभन्दा माथिका व्यक्तिको मृत्युदर धेरै हुन्छ भन्ने जानकारी समाचारबाट लिइरहेको हुन्थेँ । यो भाइरसको सङ्क्रमण भएका बिरामी निको हुने गरेको खबर पनि मैले हेरिरहेको हुन्थेँ ।
त्यस हिसाबले आत्मबल बढाउनुपर्छ भन्ने लाग्दो रहेछ । रोगप्रतिरोधात्मक क्षमता बढायो भने यसलाई जित्न सकिन्छ भन्ने बारेका खबर पढेपछि मैले आत्मविश्वास बढाउनेतिर सोच्न थालेँ ।
तपाईँ अहिले कति वर्षको हुनुभयो ?
म अहिले ३८ वर्षको भएँ ।
कुन ठाउँमा बसिरहनुभएको छ अहिले ?
म अहिले अमेरिकाको बोस्टन, मासाचुसेट्समा बस्दैछु ।
नेपालमा पनि अहिले कोभिड १९ का कारण नागरिक त्रासमा छन् ? तपाईँ यसको सङ्क्रमण भएर निको हुने तर्खरमा हुनुहुन्छ, नेपालीलाई के सन्देश दिनुहुन्छ ?
अहिले कोभिड १९ ले विश्वभरमा नै धनी, गरिब केही पनि भनिरहेको छैन ।
यसको रोकथामको उपाय भनेको लाग्नु अघि र लागिसकेपछि भन्ने हुन्छ । पहिलो कुरा लाग्न दिनु नै भएन । नेपालमा पनि लकडाउन अर्थात बन्दाबन्दी गरेको अवस्था छ ।
सरकारले आह्वान गरेको बन्दाबन्दीको नागरिकबाट पालना हुनुपर्यो । हात पटकपटक सफा गर्नुपर्यो । पानी प्रश्स्त पिउनुपर्यो । यदि घाँटीमा सङ्क्रमण छ भने त्यसलाई पेटमा लगेर एसिडले मार्छ भन्ने गरिएको छ ।
अदुवापानी पनि पिउन सकिन्छ । आत्मबल दह्रो बनाउन सकियो भने जोगिन सकिन्छ ।
तपाईँ घरमा छुट्टै बसिरहनुभएको छ अहिले ?
मेरो डक्टरले छुट्टै बस, कसैको सम्पर्कमा नआइज भनेका कारणले छुट्टै कोठामा बसेको छु । श्रीमतीले मास्क प्रयोग गरेर खाना ल्याएर छोड्दिनुहुन्छ । त्यही खाइरहेको छु ।
यो बेलामा परिवारका सदस्यको भूमिका कस्तो हुन्छ ?
यस्तो बेलामा परिवारका सदस्यको भूमिका महत्वपूर्ण नै हुन्छ । किनभने सरसफाइमा ध्यान दिनेदेखि बिरामीको आत्मबल बढाउनका लागि पनि परिवारका सदस्यको भूमिका हुन्छ ।
कोभिड १९ लाग्यो भनेर मनोबल गिराउने काम गरेपछि रोग प्रतिरोधात्मक क्षमता कम हुनसक्छ । त्यसहिसाबले परिवारले सहयोगी भूमिका निर्वाह गर्नुपर्छ ।
अडियो कुराकानी सुन्नुहोस्ः
प्रकाशित मिति: बुधबार, वैशाख ३, २०७७, १४:१९