काठमाडौँ । चीनबाट जिटुजी अर्थात् सरकारीस्तरमा छलफल गरी स्वास्थ्य सामग्री खरिद गरी आयात गर्ने समझदारी भएको छ ।
चीनबाट ल्याइने सामानको मूल्य तय भइसकेको छ । कोभिड– १९ संक्रमण नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको बैठकले चीनबाट सरकारीस्तरमा स्वास्थ्य सामग्री खरिदको विषयलाई टुङ्गो लगाएको हो ।
समितिका प्रवक्ता नारायणप्रसाद बिडारीका अनुसार तीन चरणमा भिडियो सम्वादमार्फत सरकारीस्तरमा स्वास्थ्य सामग्री खरिदको काम अन्तिम चरणमा पुगेको हो ।
स्वास्थ्य मन्त्रालयको समन्वयमा परराष्ट्र मन्त्रालयको संयोजकत्वमा चीनसँग स्वास्थ्य सामग्री खरिदबारे छलफल अघि बढाइएको थियो । सरकारले निजी कम्पनीमार्फतको खरिदमा भ्रष्टाचार गरेको भन्दै विवाद उत्पन्नपछि त्यसलाई रद्द गरी सरकारीस्तरमा खरिद गर्न लागेको हो ।
यसैबीच लकडाउन अर्थात् बन्दाबन्दी कार्यान्वयनका लागि थप कडाइ गर्ने र नमान्नेलाई मुद्दा चलाउने निर्णय पनि सरकारले गरेको छ ।
‘सङ्क्रामक रोग ऐन–२०२०’ अनुसार मुद्दा चलाउने निर्णय भएको सचिव बिडारीले बताउनुभयो । सङ्क्रमणको दर बढ्दै गएपछि बन्दाबन्दीमा कडाइ गर्न लागिएको हो ।
जोखिम बढ्दै गएको निष्कर्ष निकाली परीक्षण, पहिचान र उपचारलाई प्रभावकारी रूपमा अगाडि बढाउने निर्णय पनि समितिले गरेको छ । त्रिभुवन विश्वविद्यालयमा रहेको पीसीआर मेसिन प्रदेश २ मा दिने निर्णय पनि गरिएको छ ।
अफगानिस्तानमा संयुक्त राष्ट्रसङ्घअन्तर्गतका निकायमा कार्यरत नेपालीलाई चार्टर्ड विमानमार्फत नेपाल ल्याउने निर्णय सरकारले गरेको छ । अफगानिस्तानमा जोखिम बढेपछि उनीहरूलाई नेपाल ल्याउन लागिएको हो ।
प्रकाशित मिति: बिहीबार, वैशाख ४, २०७७, १०:२३