दार्चुला । भारतीय बजार धारचुलाको क्वारेन्टाइनमा बसेका शैल्यशिखर नगरपालिका–१ का ३५ वर्षीय बाशुदेब भट्टकी आमा गोमती भट्टको निधन भएपछि घर आउन नपाएर सीमामै किरिया बस्नुपरेको छ ।
सडकमार्गबाट ४ घण्टाको दुरीमा रहेका भट्टले आमाको अन्तिम संस्कारमा आउन सरोकारवाला सबैलाई आग्रह गरे पनि लकडाउन र सीमा बन्दका कारण आउन नमिल्ने भनेपछि क्वारेन्टाइनमै बसेको बताउनुभयो ।
भट्टलाई गाउँ फर्काउन आफूहरुले हिजोदेखि नै पहल गरिरहेको भए पनि भारतीय पक्षले अनुमति नदिदा ढिलाइ भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलको भनाइ छ ।
दार्चुला प्रशासनले भट्टको बायोडाटासहितको अनुरोध पत्र भारतीय एसडिएम कार्यालयमा पठाएको जनाएको छ । पिथौरागढका डिएम विजयकुमार जोगदंडेले नयाँदिल्लिस्थित केन्द्रिय मन्त्रालयबाट निर्देशन आएपछि मात्रै भट्टलाई नेपाल पठाउन सकिने बताउनुभएको छ ।
मृतक भट्टका चार छोरामध्ये तीन जना छोरा भारतमै मजदुरीका लागि गएका छन् । परिवारसंग बिसु मनाउन कार्यक्षेत्रबाट तीन साता पहिले घर फर्किएका भट्टले सीमा बन्द हुँदा सिमावर्ती बजार धारचुलामा कष्टपुर्ण दैनिकि विताइरहनुभएको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख ४, २०७७