चीनको वुहानबाट सन् २०१९ को डिसेम्बर अन्त्यदेखि सुरु भएको नोबेल कोरोना भाइरस अर्थात कोभिड १९ को सङ्क्रमण विश्वभरि महामारीको रूपमा फैलिएको छ ।
आजका दिनसम्म औषधि र भ्याक्सिनको पत्ता नलागेका कारण कोभिड १९ विश्वकै लागि टाउको दुखाइको विषय बनेको छ ।
विश्वका शक्ति राष्ट्रलेसमेत यो भाइरसकाविरुद्ध लड्न बनाएका योजना पूर्ण रूपमा प्रभावकारी देखिएका छैनन् । ती मुलुकहरू पनि त्राहीत्राही अवस्थामा पुगेको सन्दर्भमा कोभिड १९ महामारीले धनी, गरिब कसैलाई पनि छोड्दैन भन्ने देखिएको छ ।
कोभिड १९ ले विज्ञानलाई समेत चुनौती दिएको छ । यो महामारीबाट विश्वभरि मृत्यु हुनेको सङ्ख्या झन्डै डेढ लाख पुग्दैछ । मृत्यु हुनेमा चिकित्सक, नर्सलगायतका स्वास्थ्यकर्मी पनि छुटेका छैनन् ।
नियन्त्रणका लागि कुनै विकल्प नभएपछि विश्वभरका अधिकांश मुलुक आफ्नो देशलाई बन्दाबन्दीको अवस्थामा लगेर एक व्यक्तिबाट अर्कोमा सजिलै सर्नबाट जोगाउने कोसिसमा छन् ।
दक्षिण एसियामा सबैभन्दा धेरै दक्षिणी छिमेकी मुलुक भारत प्रभावित भएको छ भने कोभिड १९ को उत्पत्ति भएको उत्तरी छिमेकी मुलुक चीन पनि बन्दाबन्दी खोलेर नागरिकलाई सामान्य जीवनयापनमा प्रोत्साहित गर्दै गएको छ ।
चीनमा कोभिड १९ नियन्त्रणको तरखरमा देखिन्छ तर शून्यमा झरेको छैन । कोभिड १९ का कारण क्षति बेहोरिरहेका दुवै छिमेकीको बीचमा भए पनि नेपालमा भने यसबाट आजका दिनसम्म कुनै हताहतिका घटना भएका छैनन् ।
सरकारले गत चैत ११ देखि मुलुकमा बन्दाबन्दी अर्थात लकडाउनको आदेश जारी गरेको छ । विशेषगरी छिमेकी मुलुक भारतमा कोरोना सङ्क्रमणको अवस्थालाई मध्यनजर गर्दै र नेपालमा परेको प्रभावको विश्लेषणका आधारमा सरकारले बन्दाबन्दीको समय थप्दै गइरहेको छ ।
जसरी कोरोनाले सम्पन्न र विपन्न छुट्टाउँदैन, त्यसैगरी यस्तो जोखिममा जुनसुकै वर्गका बालिका तथा किशोरी पर्नसक्छन् । त्यसैले आफ्ना बालिका तथा किशोर सन्तानका बारेमा अभिभावकले उनीहरूको व्यवहारलाई निगरानीमा राख्नु आवश्यक हुन्छ ।
बन्दाबन्दीका कारण बजार सामान्य रूपमा खुल्न सकेका छैनन्, सवारीसाधन सञ्चालनमा आएका छैनन्, उपभोग्य सामग्रीको अभाव र महङ्गी बढेको छ । बन्दाबन्दीभन्दा अघि र त्यसपछि पनि जम्मा गरेको खानेकुरा सकिएपछि काठमाडौँ उपत्यकामा बस्दै आएका तर बिभिन्न जिल्लामा घर भएकाहरूले आफूलाई उकुसमुकुसको अनुभूत गर्ने क्रम बढेको छ ।
घर फर्कनका लागि सरकारीस्तरबाट सवारीसाधनको चाँजोपाँजो नभएपछि मानिसहरू १२/१५ दिन हिँडेर पनि आफ्नो घर पुग्ने हिम्मत गरिरहेका छन् ।
सीधा हेर्दा कोभिड १९ ले मानिसहरूलाई बस्न, खान र कमाउन मात्र असर गरिरहेको जस्तो देखिन्छ तर यो विपद्ले व्यक्ति, घरपरिवार, समुदाय, वर्ग र लिङ्गलाई पनि आआफ्नै स्थितिअनुसारको बहुपक्षीय गम्भीर असर पारेको छ ।
आर्थिक, राजनीति, सामाजिक र आध्यात्मिक गरी यी प्रमुख ४ असर कोभिड १९ का कारण नागरिकमा परेको देखिन्छ । यसमध्येमा पनि सामाजिक रूपमा परेको प्रत्यक्ष असरका बारेमा यहाँ जोड दिन खोजेको छु ।
सुरुमा बन्दाबन्दी अर्थात लकडाउनलाई नागरिकले सजिलै वा सामान्य रूपमा लिएका भए पनि एकै अवस्थामा सधैँ रहन नसक्ने मानिसको रुचि, व्यवहारका कारण बन्दाबन्दीको समय लम्बिँदै जाँदा व्यक्तिमा नैराश्यता, परिवारमा मनमुटाव, कलह र अन्यौलता, उकुसमुकुस र समुदायमा सन्नाटा छाएको छ ।
सामान्य अवस्थामा परिवार चल्दा बिहान उठेदेखि साँझ नपर्दासम्म एउटा तालिकामा चल्नुपर्ने भए पनि बन्दाबन्दीको अवस्थामा एकाबिहानैदेखि राति अबेरसम्म परिवारमा सबभन्दा धेरै महिला खट्नुपर्ने अवस्था छ । हुन त सबैले घर छोड्नुपरेको छैन, तर पनि घरभित्रैको कामका लागि महिलामाथि सबभन्दा धेरै दवाव देखिएको छ ।
महिलाबीच पनि सासू, नन्द, भाउजू, जेठानी, देउरानीलगायत साथैमा रहँदा हुने सानातिना असमझदारीका कारण पनि आलोपालो प्रवृत्ति बढ्दा ‘महिलाकै कारण महिला’ तनावमा पर्ने अवस्थामा पनि सिर्जना भएको छ । यद्यपी कतिपय ठाउँमा यस्ता असमझदारी नहुन पनि सक्छन् ।
घरको काममा पुरुषले पनि सहयोगी भूमिका निर्वाह गर्ने गरेको केही अपवादबाहेक महिलाहरूमाथि यसकारण कामको बोझ थुपरिन गएको छ ।
यसबाट माहिलाहरू शारीरिक तथा मानसिक तनाव र थकान महसुस गरिरहेका छन् । बन्दाबन्दीको सुरुवातसँगै राष्ट्रिय महिला आयोग, प्रहरी, बिभिन्न सञ्चारमाध्यम, सरोकारवाला सङ्घसंस्थामा पर्ने उजुरी र गुनासोहरूले पनि यस्तै सङ्केत गर्छन् ।
साँघुरो कोठामा सबै परिवारका सदस्य कोचाकोच गरेर बस्नुपर्ने, सुत्नुपर्ने, मनोरञ्जनका लागि इन्टरनेट, टेलिभिजन, रेडियोको सुविधा नहुनुका कारण पनि पुरुषहरूको ध्यान यौन व्यवहारमा जाने हुँदा एकातर्फ वैवाहिक बलात्कारको जोखिम छ,अर्कोतर्फ घरमा भएका विशेष गरी बालिकामाथि हाडनाता करणी हुने गरेका विगतका घटनाले देखाएका छन् ।
बन्दाबन्दीका कारण बालबालिका, युवा, वयस्क तथा वृद्धवृद्धा फुर्सदिला भएका छन् । यी उमेर समूहमा पनि अधिकांशको समय बिताउने र मनोरञ्जनको माध्यम सामाजिक सञ्जाल बनेको छ ।
यस्तो बेलामा सामाजिक सञ्जालको दुरुपयोग गर्नेबाट बालिका, किशोरी तथा युवतिमाथि हिंसाको जोखिम हुन्छ । अश्लिल हर्कतका लागि बालिका तथा युवतीमाथि नैतिक दवाव दिने गरेको बारे २०७२ सालको भूकम्प प्रभावितमध्ये केहीसँग मनोविमर्शका लागि बसेको बेलामा सुनेको थिएँ ।
सामाजिक सञ्जालको दुरुपयोग गरी कतिपयले अश्लिल तस्बिर पठाउने, भिडियो च्याट गर्ने, प्रलोभनमा पार्ने प्रवृत्ति बढ्दा बालिका तथा किशोरीलाई कल गर्लको रूपमा दुरुपयोग गर्ने खतरा रहन्छ ।
जसरी कोरोनाले सम्पन्न र विपन्न छुट्टाउँदैन, त्यसैगरी यस्तो जोखिममा जुनसुकै वर्गका बालिका तथा किशोरी पर्नसक्छन् । त्यसैले आफ्ना बालिका तथा किशोर सन्तानका बारेमा अभिभावकले उनीहरूको व्यवहारलाई निगरानीमा राख्नु आवश्यक हुन्छ ।
कोभिड १९ को अहिलेको महामारीको बेलामा त्यस्तो व्यवहार कुनै न कुनै रूपमा नदेखिएको होला भन्न सकिन्न । यस्तै विपद्को बेलामा नै मानव बेचबिखनमा लागेका दलालहरूले बिभिन्न प्रकारका उपाय खोजी किशोरकिशोरीलाई प्रभावमा पार्ने र चोर बाटो हुँदै मानव बेचबिखन गर्न सफल हुन्छन् ।
बन्दाबन्दी लम्बिँदै जाँदा आर्थिक अवस्था कम्जोर भएका परिवारका सदस्य, बालिका, किशोरी तथा वयस्क महिलामाथि उत्पन्न हुने अभावले पनि उनीहरू हिंसामा पर्ने खतरा हुन्छ । यी अभावका बीच मानसिक रूपमा हुने विचलनको फाइदा उठाउँदै राहत, सहयोग र उद्धारका नाउमा बलात्कार, बेचबिखनमा पर्ने अधिक सम्भावना हुन्छ ।
कोभिड १९ का कारण कलकार्खाना, उद्योग, व्यापार, व्यवसाय पनि बन्द छन् । दैनिक गरिने मजदुरीका आधारमा साँझबिहान छाक टार्ने परिवारका सदस्य पीडामा एकातर्फ छन् भने उनीहरू हाडनाता करणीको जोखिममा पनि उत्तिकै छन् ।
गर्भवती महिलाहरूलाई कोभिड १९ का कारण दुई प्रकारको तनाव देखिन्छ, एक उनीहरूले आफूलाई कसरी स्वस्थ राख्ने भन्ने बारेमा चिन्ता लिन्छन् भने अर्को आफ्नो पेटमा भएको बच्चालाई कसरी स्वस्थ रूपमा जन्माउने भन्ने पीर पनि हुन्छ ।
साँघुरो कोठामा सबै परिवारका सदस्य कोचाकोच गरेर बस्नुपर्ने, सुत्नुपर्ने, मनोरञ्जनका लागि इन्टरनेट, टेलिभिजन, रेडियोको सुविधा नहुनुका कारण पनि पुरुषहरूको ध्यान यौन व्यवहारमा जाने हुँदा एकातर्फ वैवाहिक बलात्कारको जोखिम छ, अर्कोतर्फ घरमा भएका विशेष गरी बालिकामाथि हाडनाता करणी हुने गरेका विगतका घटनाले देखाएका छन् ।
अहिलेको अवस्थामा गर्भवती, सुत्केरी, नवजात शिशु, वृद्धवृद्धा र दीर्घ रोगीहरू पनि कोभिड १९ को उच्च जोखिममा तथा शारीरिक एवं मानसिक समस्यामा छन् । माथि उल्लेखित समस्याहरूले गर्दा मानिसहरूमा बिभिन्न मनोसामाजिक र मानसिक विचलनका लक्षण देखिन सक्छन् ।
जस्तै डर लागिरहने, दिक्दारीपन आउने, झिँजो लाग्ने, चिटचिडाहटपन आउने, सानोसानो कुरामा पनि रीस उठ्ने, धेरै वा थोरै खाने, निन्द्रा नलाग्ने, सरसफाइमा ध्यान नजाने, मन अस्थिर हुने, रुन मन लाग्ने, दुखी हुने, थकान महसुस हुने, हुन्छ । आत्महत्याको सोँच आउने, मुटु काँप्ने, नरमाइलो लाग्ने, एकान्तमा बस्न मन लाग्ने, आत्मबलमा कमि आउने र चिन्ता लाग्ने पनि मनोसामाजिक समस्याका लक्षण हुन् ।
समयमै मनोसामाजिक समस्या पहिचान गरी उपचार नपाए यस्तो विपद्का कारण व्यक्ति जटिल प्रकारको मानसिक समस्यामा जान सक्छ । निन्द्रा पटकै नलाग्ने, निन्द्रामा झस्कने, एक्लै बरबराउने, नभएको बस्तु देख्ने वा सुन्ने, वास्तविकतामा भन्दा काल्पनिक संसारमा रमाउने, आक्रामक व्यवहार देखाउने, असामान्य व्यवहार गर्ने, वेमौसमी लुगा लगाउने, भनेको नमान्ने, मनलागेको ठाउँमा हिँडडुल गर्ने यी सबै लक्षण गम्भीर प्रकारका मानसिक समस्या हुँदा देखिन्छ । जुनसुकै वर्ग, समुदाय र लिङ्गका व्यक्तिमा यो समस्या हुनसक्छ । त्यसैले विपद्को समयमा देखिने तनाव र दवावलाई समयमै निराकण गर्नेतर्फ ध्यान दिनुपर्छ ।
बन्दाबन्दीको अवस्था भए पनि आफ्नै घरभित्र आफ्नो मूल्यमान्यता, परम्परा, धर्म तथा संस्कृति अनुसारका पुजापाठलगायतका क्रियाकलापमा सहभागिता जनाउनु पनि तनाव तथा दवाव व्यवस्थापनको राम्रो माध्यम हुन्छ । श्वासप्रश्वाससम्बन्धी अभ्यास अर्थात श्वास लिने र फाल्ने अभ्यासले पनि तनाव व्यवस्थापनमा सहयोग गर्छ ।
माथि उल्लेखित समस्या आफ्नो घरपरिवारका सदस्यमा आइहाले वा देखिए पनि आत्तिने, झन् विचलित हुँदा समस्या जटिल बन्न सक्छ । यस्तो बेलामा अल्छी नगरीकन योगा, ध्यान गर्ने, मनपर्ने गीतसङ्गीत सुन्नु लाभदायक हुन्छ । अरुबाट सहायता माग्न अफ्ठेरो नमान्ने, समन्वय गर्ने, आधिकारिक निकायबाट आएका सूचनामा विश्वास गर्ने बानीले पनि तनाव लिनुपर्दैन ।
जुन कुरामा आफ्नो रुचि छ र आधिकारिक छ त्यस्ता सामग्रीको अध्ययन गर्ने, उपन्यास, कथा, कविता लेख्ने वा पढ्ने, आफूले विश्वास गरेको व्यक्ति वा परिवारका सदस्यसँग आफ्नो मनका कुरा व्यक्त गर्ने गर्दा पनि विचलित भएको मनले हल्का महसुस गर्न सक्छ । बालबालिकालाई उनीहरूको रुचि अनुसारका क्रियाकलापमा लगाउन सकिन्छ ।
चित्रकला बनाउन, उनीहरूले पढेका कुनै पाठ वा विषयमा वर्णन गर्न लगाउनुले एकातर्फ समय कटाउन सजिलो हुन्छ भने अर्कोतर्फ उनीहरूको सिकाइको पुनरावलोकन हुन्छ ।
गर्भवती महिलाहरूलाई कोभिड १९ का कारण दुई प्रकारको तनाव देखिन्छ, एक उनीहरूले आफूलाई कसरी स्वस्थ राख्ने भन्ने बारेमा चिन्ता लिन्छन् भने अर्को आफ्नो पेटमा भएको बच्चालाई कसरी स्वस्थ रूपमा जन्माउने भन्ने पीर पनि हुन्छ । यस्तो बेलामा परिवारका सदस्य खासगरी श्रीमानले उनलाई सुरक्षित राख्ने र सुरक्षित सुत्केरी गराउनका लागि व्यवस्था निश्चित गरिएको बारेमा आश्वस्त पार्नुपर्दछ ।
गम्भीर प्रकारका औषधि खाइरहेका व्यक्तिका लागि परिवारका सदस्यले सम्बन्धित चिकित्सकसँग टेलिफोनमा सल्लाह तथा परामर्श लिइराख्नु जरुरी हुन्छ । त्यस्ता व्यक्तिले नियमित औषधि सेवन गरेनगरेको बारेमा परिवारका सदस्यले अनुगमन गर्नुपर्छ ।
घरपरिवारका सदस्यलाई तनाव वा दवावमुक्त राख्नु पनि कुनै कारणले कोभिड १९ वा अरु कुनै रोग लागेछ भने त्यसविरुद्ध लड्न र उसलाई परास्त गर्नका लागि पूर्व तयारी गर्नु हो ।
खासगरी पाको उमेरका व्यक्तिका लागि ‘नजिकैमा म छु वा साथमा छौँ ।’ भन्ने अनुभूति दिलाउन सक्नुपर्छ । कोरोनाका कारण ६० वर्ष कटेका नागरिक जोखिममा रहेको भन्दै गर्दा उनीहरूले थप असुरक्षाको महसुस गरेका हुनसक्छन्, त्यसैले पनि उनीहरूको आत्मबल बढाउने र ढाडस दिनेगरी परिवारका सदस्यले भूमिका खेल्नुपर्छ ।
बन्दाबन्दीको अवस्था भए पनि आफ्नै घरभित्र आफ्नो मूल्यमान्यता, परम्परा, धर्म तथा संस्कृति अनुसारका पुजापाठलगायतका क्रियाकलापमा सहभागिता जनाउनु पनि तनाव तथा दवाव व्यवस्थापनको राम्रो माध्यम हुन्छ । श्वासप्रश्वाससम्बन्धी अभ्यास अर्थात श्वास लिने र फाल्ने अभ्यासले पनि तनाव व्यवस्थापनमा सहयोग गर्छ ।
कोभिड १९ का कारण प्रभावितका लागि भनेर मानसिक स्वाथ्यको क्षेत्रमा कार्यरत बिभिन्न सरकारी तथा गैरसरकारी सङ्घसंस्थाले सार्वजनिक गरेको परामर्श सेवामा सम्पर्क गरेर पनि मनमा लागेको कुरा सुनाउनु राम्रो हुन्छ ।
कोभिड १९ होस् वा अरु जुुनसुकै रोगबाट बच्नका लागि पनि सबभन्दा महत्वपूर्ण भनेको मानिसको रोगप्रतिरोधात्मक क्षमता बलियो हुनु नै हो । अध्ययनहरूले के देखाएको छ भने जुन व्यक्तिमा कुनै पनि प्रकारको मानसिक तनाव वा दवाव हुँदैन, उनीहरूमा रोगप्रतिरोधात्मक क्षमता बलियो हुन्छ ।
त्यसैले घरपरिवारका सदस्यलाई तनाव वा दवावमुक्त राख्नु पनि कुनै कारणले कोभिड १९ वा अरु कुनै रोग लागेछ भने त्यसविरुद्ध लड्न र उसलाई परास्त गर्नका लागि पूर्व तयारी गर्नु हो ।
प्रकाशित मिति: बिहीबार, वैशाख ४, २०७७, १९:२५