काठमाडौँ । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले कोभिड–१९ को सन्दर्भमा युरोपका विभिन्न मुलुकसहित अस्ट्रेलिया र थाइल्यान्डमा रहेका नेपालीको सुरक्षामा चासो दिन सम्बन्धित राजदूतलाई निर्देशन दिनुभएको छ ।
सम्बन्धित मुलुकका राजदूतलाई टेलिफोन गरी मन्त्री ज्ञवालीले त्यस क्षेत्रका नेपालीको वर्तमान अवस्थाको जानकारी गराउनसमेत निर्देशन दिनुभयो । टेलिफोन संवादका क्रममा उहाँले त्यहाँका नेपालीको हित सुरक्षाका लागि आवश्यक सहयोग दिन हरबखत तयार रहन पनि भन्नुभएको छ ।
भिसा सकिएकालाई भिसाको म्याद थप्ने प्रक्रियाका लागि सम्बन्धित मुलुकको सरकारसँग समन्वय गरी नेपाली नागरिकलाई सहज बनाउन पनि मन्त्री ज्ञवालीले निर्देशन दिनुभयो ।
मन्त्री ज्ञवालीले नेपालीलाई कुनै अप्ठेरो वा समस्या परेमा सकेसम्म त्यहीँ समाधान गर्ने र नसकेको खण्डमा हरेक दिन परराष्ट्र मन्त्रालयमा रिपोर्ट बनाएर पठाउनसमेत भन्नुभएको छ ।
राजदूतावास वा कूटनीतिक नियोगमा हटलाइन नम्बर र कर्मचारी अद्यावधिक राखेर २४ घण्टा त्यहाँ रहेका नेपालीको समस्या सुन्न र सहयोगका लागि पहल गर्न राजदूत तथा नियोगलाई उहाँले सचेत गराउनुभएको छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०७७, १२:२९