काठमाडौँ । नोबेल कोराना भाइरस अर्थात कोभिड १९ नियन्त्रणका लागि हालसम्म भएका प्रयास र उपलब्धिका बारेमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्का सदस्य तथा कोरोना रोकथाम उच्चस्तरीय समितिका सदस्यलाई बालुवाटारमा बोलाउनुभएको छ ।
दिउँसो ४ बजेदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छलफलमा कोभिड १९ को नियन्त्रणका लागि अपनाइएको रणनीतिको समीक्षा र आवश्यक निर्णय हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सीआईएनसँग बताउनुभयो ।
उहाँका अनुसार प्रधानमन्त्री ओलीले कोभिड १९ नियन्त्रणका लागि भइरहेका कामकारबाही, चुनौती तथा आगामी रणनीतिका बारेमा छलफल गर्नका लागि बैठक बोलाउनुभएको हो ।
पछिल्लो समयमा काठमाडौँ उपत्यकालगायत बिभिन्न जिल्लाबाट घर फर्कनका लागि नागरिक लामो दुरीको पैदल यात्रामा हिँडेका दृश्य र उनीहरूलाई व्यवस्थापन गर्ने बारेमा पनि आजको बैठकमा आवश्यक निर्णय हुनसक्ने अनुमान गरिएको छ ।
यद्यपी प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले अहिले सार्वजनिक भइरहेका दृश्य वास्तविकताभन्दा धेरै भएको टिप्पणी गर्नुभयो ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०७७, १७:३०