काठमाडौं । नेपालका दोश्रो कोरोना संक्रमित उपचार पछि निको भएर घर फर्कनुभएको छ ।
कोरोना संक्रमण भएर शहिद शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा २७ दिनसम्म उपचार गरी पूर्ण रूपमा स्वस्थ भएर प्रसिद्धि श्रेष्ठ आज घर फर्कनु भएको हो ।
चैत १० गते कोरोना संक्रमण देखिएको उहाँ टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना हुनुभएको थियो ।
आफू पूर्ण रुपमा निको भएर फर्किएको उहाँले सञ्चार माध्यमलाई प्रतिक्रिया दिनुभएको छ । आफ्नो उपचारमा चिकित्सक र स्वास्थ्यकर्मीले राम्रो सहयोग गरेको पनि उहाँले बताउनुभयो ।
काठमाडौंका श्रेष्ठ चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौं आउपुग्नुभएको थियो ।
सोही कतार एयरवेजको जहाजबाट नेपाल आएका बागलुङका अरू दुई जना नेपालीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
उनीहरू धौलागीरी अस्पतालमा उपचाररत छन् । उनीहरूको स्वास्थ्य अवस्था पनि सामान्य रहेको चिकित्सकले बताएका छन् ।
अस्पतालका प्रवक्ता डाक्टर अनुप बास्तोला र प्रसिद्धिको अनुमतिमा उहाँको तस्बिर सञ्चार माध्यमलाई पठाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, वैशाख ६, २०७७, १४:०४