पर्वत ।
बागलुङमा कोरोना संक्रमित ६५ वर्षिया महिला निको भएर घर फर्किनुभएको छ । बागलुङ नगरपालिका ३ गौँडाकोटकी मनकुमारी पौडेल निको भएर आज घर फर्कनुभएको हो ।
आज गरिएको चौथो स्वाव परिक्षण नेगेटिभ देखिएपछि पौडेललाई धौलागिरी अञ्चल अस्पतालले डिस्चार्ज गरि घर पठाएको हो । छैटौँँ संक्रमित उहाँमा संक्रमण नभएको पुष्टि भएपछि डिस्चार्ज गरिएको अस्पतालका प्रमुख डा. शैलेन्द्र पोखरेलले जानकारी दिनुभयो ।
लगातार दुई पटक रिपोर्ट नेगेटिभ आएपछि उहाँलाई नुहाईधुवाई गर्न लगाएर अस्पतालले डिस्चार्ज गरेको डा. पोखरेलले बताउनुभएको छ ।
अस्पतालबाट घर फर्किनुभएका महिलाले आफूले सहज रुपमा कोरोनालाई जितेको प्रतिक्रिया दिनुभएको छ । अस्पतालमा रहँदा डाक्टर, नर्स, छिमेकी लगायतले गरेको सहयोगले आफू निको भएको उहाँले बताउनुभयो ।
चैत ४ गते बेल्जियमबाट कतारको दोहा ट्रान्जिट भएर नेपाल आउनुभएकी उहाँलाई चैत २० गते कोरोना संक्रमण रहेको पुष्टि भएको थियो ।
अन्य दीर्घरोगले सताइरहेपनि उहाँले औषधि नै नभएको कोरोनालाई परास्त गर्न सफल भएकोमा खुशी व्यक्त गर्नुभयो । दैनिक तीन चार लिटर तातो पानी पिउने र पीर चिन्ता नलिइकन बस्दा निको भएको उहाँ बताउनु हुन्छ ।
उहाँको घर परिवार र छिमेकमा नजिक भएकाहरू समेत स्वाब परीक्षण भएको छ । सबैको नेगेटिभ रिपोर्ट आएकोले ति महिलाको समाज समेत सुरक्षित देखिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र पोखरेलले बताउनुभयो ।
लकडाउनको सुरुवातमा ‘डेन्जर जोन’मा देखिएको बागलुङ अब बिस्तारै ‘नर्मल’ भएको छ ।
अर्का संक्रमित १९ वर्षिया यूवतीको भने चौथो पटक स्वाव परिक्षण गर्दा पनि नतिजा पोजेटिभ नै आएको छ ।
ति यूवती पनि धौलागिरी अञ्चल अस्पतालमै उपचार गरिरहनुभएको छ । यूवतीको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकहरूले बताएका छन् ।
प्रकाशित मिति: शनिबार, वैशाख ६, २०७७, १८:४२