काठमाडौं ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) बाट सङ्क्रमित भएर उपचार गराइरहेका नेपाली निको भएर घर फर्कने क्रम बढेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म चार जना निको भएर घर फर्किएका छन् ।
मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले दिनुभएको जानकारी अनुसार धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत एक युवक आज निको भएर घर फर्किनुभएको छ ।
उपचार पछि निको भएर घर फर्कनुभएका कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका २१ वर्षका राजु कोलीले आज साँझ सीआईएनसँगको कुराकानीमा निको भएर घर फर्किन पाउँदा निकै खुशी लागेको बताउनुभयो ।
सकारात्मक सोच र निको हुन्छु भन्ने आत्मबलले नै आफूलाई यति छिटो निको हुन सहयोग गरेको उहाँले बताउनुभयो ।
अस्पतालका डाक्टर तथा स्वास्थ्यकर्मीहरूले पनि आफूलाई सधैं हौसला बढाउने काम गरेको भन्दै उहाँले उपचार गरि पूर्ण रुपमा स्वस्थ हुन सघाउने डाक्टरहरूलाई धन्यवाद दिनुभयो ।
तेस्रो पटकको रिपोर्ट समेत नेगेटिभ अर्थात् कोरोना नभएको आएपछि उहाँलाई अस्पतालले आज अपरान्ह साढे ४ बजे डिस्चार्ज गरेको हो ।
भारतबाट चैत ११ गते घर फर्किनुभएका उहाँलाई कैलालीको प्रतापपुर क्वारेन्टाइनमा ११ दिन बसेपछि २२ गते कोरोना पुष्टि भएको थियो । ११ दिन क्वारेन्टाइनमा र १३ दिन आइसोलेसन बसेपछि उहाँ घर फर्कनुभएको हो ।
उहाँ पूर्ण रुपमा निको भएर घर फर्कनुभएको सेती प्रादेशिक अस्पतालका प्रवक्ता डाक्टर जगदीश जोशीले सीआईएनसँग बताउनुभयो । यससँगै नेपालमा कोरोना निको हुनेको संख्या चार पुगेको छ ।
यसअघि हिजो शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा २७ दिनदेखि उपचार गराइरहनुभएका काठमाडौंका १९ बर्षिया प्रसिद्धि श्रेष्ठ र बागलुङको धौलागिरी अस्पतालमा १८ दिनदेखि उपचार गराइरहनुभएका ६५ बर्षिया मनकुमारी पौडेल पनि उपचार पछि घर फर्कनुभएको थियो ।
कोरोना सङ्क्रमित अरू २७ जनाको भने मुलुकका विभिन्न अस्पतालमा उपचार भइरहेको र उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयका प्रवक्ता डाक्टर देवकोटाले बताउनुभयो ।
प्रकाशित मिति: आइतबार, वैशाख ७, २०७७, २१:१५