काठमाडौँ । लकडाउनको समय बढ्दै जाँदा मुलुकको राजश्व सङ्कलन प्रभावित भएको छ । लकडाउन अर्थात् बन्दाबन्दीको अवधिमा दुई अर्ब मात्रै राजश्व संकलन भएको भन्सार विभागले जनाएको छ ।
चैतको राजश्व सङ्कलन, कुल लक्ष्यको ३३ प्रतिशत मात्रै भएको भन्सार विभागका महानिर्देशक सुमन दाहालले सीआइएनसँग बताउनुभयो । चैतमा भन्सारको सङ्कलन लक्ष्य ३६ अर्ब थियो तर, अहिलेसम्म १२ अर्ब मात्रै सङ्कलन भएको छ ।
राजस्व सङ्कलनमा ६७ प्रतिशतले कमी आएको महानिर्देशक दाहालले बताउनुभयो । सङ्कलित राजश्वको ठूलो हिस्सा पनि लकडाउनअघिको १० दिनको हो । विभागका अनुसार चैतको लकडाउन अवधिमा दुई अर्ब ८५ करोड ६७ लाख ७६ हजार चारसय ४९ रुपैयाँ मात्रै राजश्व उठेको छ ।
यस अवधिमा तरकारी, पेट्रालियम पदार्थ र औषधिको आयात बढी मात्रामा भएको र यसमा भन्सार दर निकै कम रहेको विभागले जनाएको छ । औषधि र स्वास्थ्य सामग्रीमा भन्सार नलाग्ने तथा तरकारीमा पाँच प्रतिशत मात्रै भन्सारदर हुने कारणले राजश्व घटेको विभागले जनाएको छ ।
कलडाउन अवधिमा भैरहवा, विरगन्ज, विराटनगर, नेपालगन्ज, मेची, जलेश्वर र कृष्णनगरबाट जम्मा ६ हजार ६ सय २८ सवारीसाधन भन्सार प्रवेश गरेका छन् । लकडाउन अवधिमा २० वटा भन्सार कार्यालयबाट आयात निर्यात भएको छ ।
जनकपुर भन्सारबाट भने कारोबार शून्य रहेको विभागले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख ८, २०७७, १०:३८