काठमाडौं ।
नोबेल कोरोना भाइरस नियन्त्रणका लागि सरकारले मुलुकभर जारी गरेको लकडाउन अर्थात् बन्दाबन्दीलाई ठाउँ अनुसार परिमार्जन गर्ने भएको छ ।
चौथो चरणबाट परिस्थिति हेरेर कार्यान्वयन गर्नेगरि सरकारले गृहकार्य सुरु गरेको छ ।
गत चैत ११ गतेदेखि सुरु भएको बन्दाबन्दीको आदेश तेस्रो पटकका लागि सरकारले यही वैशाख १५ सम्म कायम रहने निर्णय गरिसकेको छ ।
सीआईएनसँगको कुराकानीमा सरकारका प्रवक्तासमेत रहनुभएका, अर्थ एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री डाक्टर युवराज खतिवडाले आगामी बन्दाबन्दी कहाँ खुकुलो बनाउने र कहाँ कडाइका साथ लागू गर्ने भन्ने बारेमा अध्ययन भइरहेको बताउनुभयो ।
सरकारको अध्ययनको निष्कर्षका आधारमा १५ गतेअघि निर्णय लिने मन्त्री खतिवडाले जानकारी दिनुभयो ।
भारत, चीनलगायतका मुलुकमा कोरोनाको अवस्था नियन्त्रणमा नरहेका कारण सीमा नाका भने तत्कालै खोल्ने तयारी नभएको मन्त्री खतिवडाले जानकारी दिनुभयो ।
उहाँका अनुसार भारतबाट अनधिकृत रुपमा नेपाल आउने तर जानकारी धेरै समयपछि मात्र थाहा हुने भएका कारण पनि पछिल्लो समय नेपालमा जोखिम बढेको छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०७७, २१:५०