काठमाडौं ।
वल्र्ड भिजन इन्टरनेशनल नेपालले जिल्ला प्रशासन कार्यालय तथा स्थानीय तहका क्वारेन्टाइनलाई सामग्री सहायता गरेको छ ।
वल्र्ड भिजन इन्टरनेसनल नेपालको सहयोग र स्थानीय साझेदार संस्थाहरुसँगको सहकार्यमा कोरोना भाइरस (COVID-19) प्रतिकार्य योजना अन्तर्गत जोखिममा रहेका बालबालिका, महिला तथा समुदायहरुलाई सहयोग गरिएको वल्र्ड भिजनले जनाएको छ ।
वल्र्ड भिजनले प्रदेश १ र २ को मोरङ, सुनसरी, उदयपुर, रौतहट, महोत्तरी र सर्लाहीमा क्वारेन्टाइन निर्माण तथा व्यवस्थापनको लागि गैह्रखाद्यान्न समाग्रीहरु जिल्ला प्रशासन कार्यालयमा हस्तान्तरण गरेको हो ।
प्रति जिल्ला तारपुलीन ७० सेट, डोरी ५०, झुल ४०, प्लास्टिक बास्केट ६०, ब्लाङ्केट ९२, प्लास्टिक जर्किन १००, प्लास्टिक म्याट २५, पीफम ७, साबेल ११ र सानो डोरी १५ सेट वितरण गरिएको वल्र्ड भिजन इन्टरनेशनल नेपालका सञ्चार व्यवस्थापक प्रतिष्ठा कोइरालाले जानकारी दिनुभयो ।
उहाँका अनुसार उदयपुरमा भने तारपुलीन ७० सेट, डोरी ५०, झुल ५०, प्लास्टिक बास्केट ३५, ब्लाङ्केट ९०, प्लास्टिक जर्किन ७० र सानो डोरी १७ सेट वितरण गरिएको छ ।
साथै संस्थाले उदयपुरको रौतामाइ गाउँपालिकाका १०० र मोरङको ग्रामथान गाउँपालिकाका १०० घरधुरीलाई स्थानीय तहको अगुवाइमा खाद्यान्न पनि वितरण गरेको छ ।
प्रदेश २ मा रौतहटको गरुडा र माधव नारायणमा ४०० साबुन, ५० स्यानिटाइजर र १६०० सर्जिकल पन्जा र सर्लाहीमा एकहजार थान मास्क, २०६ थान सेनिटाइजर, डिटल साबुन ५ सय ७५ थान वितरण गरेको छ ।
वल्र्ड भिजनका पब्लिक इन्गेजमेन्ट डाइरेक्टर पुष्कर खातीले भन्नुभयो, ‘हामीले स्थानीय तह तथा प्रदेश सरकारहरुलाई तत्काल सहयोगका निम्ती यी सहयोग गरेका हौँ । यस बाहेक सञ्चारक्षेत्रसँगको समन्वयमा कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा व्यवस्थापनमा मद्दत गर्न जनचेतनामूलक सूचनाहरु देशभरी पुग्नेगरी सम्प्रेषण पनि गरिरहेका छौं । वल्र्ड भिजनले तीनै स्थानीय तहको सरकारसँगको सहकार्यमा आवश्कता अनुरुप समुदायको आवश्यकता सम्बोधन गर्न थप प्रतिकार्यको योजनाको तयारी पनि गरिरहेको छ । ’
प्रदेश नं १ को मोरङ, सुनसरी र उदयपुर साथै प्रदेश नम्बर २ को सर्लाही, महोत्तरी र रौतहटमा वल्र्ड भिजन इन्टरनेसनल नेपालले स्थानीय साझेदार संस्थाहरु मार्फत् स्थानीय तहसँगको सहकार्य तथा समन्वयमा जोखिममा रहेका बालबालिका तथा महिलाहरुका लागि शिक्षा, स्वास्थ्य तथा पोषण, संरक्षण, जीविकोपार्जन, विपद् व्यवस्थापन, बालमैत्री अभियानजस्ता क्षेत्रमा विभिन्न परियोजनाहरु मार्फत कार्यक्रम सञ्चालन गरिरहेको सञ्चार व्यवस्थापक कोइरालाले जानकारी दिनुभयो ।
प्रकाशित मिति: बुधबार, वैशाख १०, २०७७, १५:१०