काठमाडौँ । धरानमा थप ३ जना व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । धरानस्थित विपि कोरइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज गरिएको परीक्षणमा थप ३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले २४ वर्षीय, ६० वर्षीय र ७२ वर्षीय ३ जना पुरुषमा कोरोना पुष्टि भएको जानकारी दिनुभयो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ४५ पुगेको छ ।
सङ्क्रमित ३ जनालाई क्वारेन्टाइनबाट अस्पताल लग्ने तयारी भइरहेको पनि उहाँले बताउनुभयो ।
यसैबीच सुदूरपश्चिमका तेस्रो कोरोना सङ्क्रमित पनि अस्पतालबाट डिस्चार्ज भएका छन् । सेती प्रादेशिक अस्पतालका अनुसार कञ्चनपुरको बेदकोट नगरपालिकाका ४१ वर्षका पुरुषको तेस्रो र चौथो रिपोर्ट नेगेटिभ आएपछि उहाँलाई अस्पतालबाट डिस्चार्ज गरिएको हो ।
उहाँको यसअघि गरिएको पहिलो र दोस्रो रिपोर्टमा भने कोरोना देखिएको थियो । यसअघि कैलालीको लम्की चुहा नगरपालिकाका २१ वर्षका युवक र धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ वर्षका सङ्क्रमित युवकलाई सञ्चो भएपछि अस्पतालले डिस्चार्ज गरिसकेको छ ।
टेकु अस्पतालबाट पनि आज एकजना ३२ वर्षका पुरुष कोरोनाको उपचारपछि निको भएर घर फर्किएका डा देवकोटाले जानकारी दिनुभयो ।
प्रकाशित मिति: बुधबार, वैशाख १०, २०७७, १६:४६