काठमाडौं ।
केन्द्रीय सचिवालयको निर्णयविना नै राजनीतिक दल फुटाउन सहज हुने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश जारी भएपछि नेकपाभित्र विवादको आकार बढेको देखिन्छ ।
शीर्ष तहका नेताहरु छुट्टाछुट्टै परामर्शमा जुट्न थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सांसदहरुसँग छुट्टाछुट्टै छलफल थाल्नु भएको छ ।
पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई साक्षी राखेर प्रधानमन्त्रीले सांसदहरुलाई अध्यादेश किन ल्याउनुप¥यो भनेर बालुवाटारमा बोलाएर प्रष्ट पार्नुभयो ।
‘राजनीतिक दल विभाजन खुकुलो पार्ने गरी अध्यादेश ल्याउनुको अर्थ नेकपासँग सम्बन्धित छैन । तर, व्यक्तिका लोकतान्त्रिक अधिकार सुरक्षित गर्न’ – प्रधानमन्त्रीको तर्क थियो ।
कुनै पार्टीका सांसदहरू वा सदस्यहरू अलग हुन चाहन्छन् भने किन प्रतिबन्ध लगाउने ? भन्दै कुनै पार्टी फुट्दै छ कि जस्तोगरि संकेत भने गर्नुभयो ।
राजनीतिक दलसम्बन्धी अध्यादेशबारे सोचविचार गरेरै ल्याएको भन्दै आफू स्मार्ट देखिनका लागि विरोध नगर्न सांसदलाई चेतावनी दिनुभएका प्रधानमन्त्रीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश बाध्यता परेर ल्याएको बताउनुभयो ।
विपक्षीका कारण कुनैपनि संवैधानिक निकायमा नियुक्ति गर्न नसक्दा लोकतान्त्रिक प्रणाली नै अवरुद्ध भएकाले त्यसलाई फुकाउन ल्याइएको पनि उहाँले प्रष्ट पार्नुभयो ।
छलफलका विषयमा सुदूरपश्चिमका सांसद दिपकप्रकाश भट्टले भन्नुभयो, ‘अहिले अध्यादेशहरु ल्याउनुपर्ने कारण र त्यसको आवश्यकताको बारेमा पनि उहाँले स्पष्ट पार्नुभयो । आफ्ना कुराहरु राखिसकेपछि तल कोरोना महामारीविरुद्ध आइरहेका समस्या र संवोधन गर्नुपर्ने, सांसदहरुले खेल्नुपर्ने भूमीका र पार्टीले खेल्नुपर्ने भूमीकाका विषयमा अन्तरक्रिया भयो ।’
दुई अध्यक्षबीचको लय मिलेको देखाउन बायाँपट्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई राखेर ओलीले, अध्यादेश किन ल्याउनु परेको भन्ने विषयमा लामो भाषण गर्नुभएको थियो ।
बेला बेला पचण्डतिर पुलुक्क हेर्नुहुन्थ्यो, प्रचण्डले टाउको हल्लाउनु हुन्थ्यो, कहिलेकाही मौन रहनुहुन्थ्यो । सांसदहरुसँग छलफल भनिएपनि सांसदले कुरा राख्न पाएनन् ।
सुदूरपश्चिमका सांसदको पटक पटक अनुरोधपछि केही मिनेट भीम रावलले नीतिगत विषय कोट्याउँदै अध्यादेशप्रति असहमति राख्नुभएको थियो ।
प्रधानमन्त्रीले, सरकारका राम्रा काम नदेख्ने खाली विरोधमात्र गर्ने, स्मार्ट बनेर बोल्ने प्रवृत्ति छ त्यसले फाइदा गर्दैन भन्दै ब्यङग्यात्मक जवाफ दिनुभयो ।
सांसद गणेश ठगुन्नाले सीमा नाकामा पारीपट्टी नेपालीले दुःख पाएको र व्यवस्थापन गर्नुपर्ने कुरा राख्दा सीमा नाका नखुल्ने तर नेपालीको व्यवस्थापनमा भारतसँग कुरा भइरहेको जानकारी गराउनुभयो ।
सुदूरपश्चिमका सांसदहरुसँग छलफल सकिएलगत्तै प्रदेश नम्बर १ का सांसदहरुसँग पनि छलफल भएको थियो । अर्को छलफलमा पनि कुरा उही र उस्तै भएको थियो ।
बागमति प्रदेशका सांसदहरुसँग पनि आजै छलफल भएको र अध्यादेशकै विषयमा प्रष्ट पारिएको सांसद गोमा देवकोटाले जानकारी दिनुभयो ।
देवकोटाले सीआईएनसँग भन्नुभयो, ‘विध्येकको विषयमाचाहिँ पार्टी फुटाउने हिसाबले, कूनै दल फुटाउने हिसाबले ल्याएको होइन, जुन संविधानमा व्यवस्था छ त्यही अनुसार ल्याएको हो भनेर भन्नुभयो । तपाईहरु ढुक्क हुनुस् भनेर भन्नुभयो ।’
दुईवटा प्रदेशका सांसदहरुसँगको छलफलमा प्रचण्ड पूरै समय बस्नुभएन । तर सुदूरपश्चिमका सांसदसँगको छलफलको अन्त्यमा अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीले तपाईको केही बोल्नुपर्ने छ ? भनेर सोध्नुभयो ।
तर प्रचण्डले केही छैन भन्दै टाउको हल्लाउनुभयो ।
प्रकाशित मिति: बुधबार, वैशाख १०, २०७७, २०:३७