काठमाडौँ । समाजवादी र राष्ट्रिय जनता पार्टीबीच एकाएक एकताको सहमति भएको छ । राजपा फुटाउन सरकारले अध्यादेश ल्याएको अनुमान भइरहेका बेला दुईपार्टीबीच गएको मध्यरातमा एकताको सहमति भएको हो ।
नयाँ पार्टीको नाम ‘जनता समाजवादी पार्टी” रहने छ भने झण्डा समाजवादीको आयातकार आकारमा रातो र हरियो रङ्गको बीचमा तारा हुनेछ । चुनाव चिन्ह राजपाले प्रयोग गर्दै आएको छाता हुनेछ ।
राजपा अध्यक्ष मण्डलका संयोजक शरदसिंह भण्डारीको निवासमा हिजो साँझ भएको वार्तामा भएको सहमतिमा दुवै पार्टीका चार–चार जना नेताले हस्ताक्षर गरेका छन् ।
लामो समयपछि एकता भएको र सरकारले ल्याएको अध्यादेशलाई चुनौती दिन हिजो नै पार्टी एकताको सहमति गरिएको राजपा नेता महेन्दराय यादवले सीआईएनलाई जानकारी दिनुभयो ।
अहिले समाजवादीमा सङ्घीय परिषद्को अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव हुनुहुन्छ भने राजपामा ६ जना अध्यक्ष मण्डलका सदस्य छन् ।
पार्टी एकताको सहमति पत्रमा समाजवादीबाट डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई र राजेन्द्र श्रेष्ठले तथा राजपाको तर्फबाट महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव र शरदसिंह भण्डारीले हस्ताक्षर गर्नु भएको छ ।
सङघीय समाजवादीले यसअघि आफ्ना सांसद सुरेन्द यादवलाई अपहरण शैलीमा काठमाण्डौँ ल्याइएको आरोप लगाएको थियो । रेणु यादवको समूहको नेतृत्वमा समाजवादी पार्टीबाट अलग भएर नयाँ पार्टी गठनको तयारी गराइएको आरोप लागेको थियो ।
सांसद रुही नाजले आफू समाजवादीमै रहेको र पार्टी विभाजनमा लागेको भन्ने हल्ला निराधार रहेको विज्ञप्ती निकालेर बताउनु भएको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०७७, ०७:१३