काठमाडौँ । नेपालमा थप दुई जनामा नोबेल कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित जानकारीका क्रममा आज थप दुईजनामा कोरोना पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले बताउनुभयो ।
जनकपुर प्रादेशिक अस्पतालमा गरिएको पीसीआर जाँचका क्रममा सर्लाही ईश्वरपुर नगरपालिका १ का १४ वर्षका किशोरमा कोरोना देखिएको हो । त्यसैगरी उदयपुरका ५५ वर्षका महिलामा कोरोना पुष्टि भएको प्रवक्ता देवकोटाले जानकारी दिनुभयो ।
ती महिलाको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको जाँचका क्रममा कोरोना भएको पाइएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ४७ पुगेको छ ।
पाटन अस्पतालमा उपचाररत दुई जना भने कोरोनाको उपचारपछि निको भएर घर फर्किएका छन् । पेप्सीकोलाको सनसिटी अपार्टमेन्टमा बसोबास गर्ने ५८ वर्षीय पुरुष र ८१ वर्षीया महिलालाई घर पठाइएको हो।
योसँगै उपचारपछि घर फर्कनेको संख्या ९ पुगेको छ।
प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०७७, १६:३८