झापा ।
लकडाउन अर्थात् बन्दाबन्दीको एक महिना पूरा भएको छ । बन्दाबन्दीको समय अझै थप हुने निश्चित जस्तै छ । लकडाउन लम्बिदै जाँदा व्यवसायिक रुपमा गाई पालनमा लागेका झापाका किसानलाई समस्या पर्न थालेको छ ।
लकडाउन अर्थात् बन्दाबन्दीका कारण किसानले गाईलाई दाना खुवाउन पाएका छैनन्, दूध बेच्न पनि पाएका छैनन् । मेचीनगर ४ का किसान बद्री निरौलाका अनुसार लकडाउनका कारण किसानले निकै सास्ती झेल्नु परेको छ ।
उहाँले भन्नुभयो, ‘अरु व्यवसायजस्तो यो व्यवसाय होइन । गाईलाई दैनिक खुवाउनै पर्नेहुन्छ । गाईले दैनिक एउटा गोठमा तीन/चार सय केजी दान खान्छ । त्यसैगरी चार/पाँच क्वीन्टल घाँस खान्छ । त्यो व्यवस्थापन हामीले लामो समयका लागि गर्न सकेका हुँदैनौं । ५/७ दिनको लागि गरिएको हुन्छ । लकडाउन लम्बिदै जाँदा गाइले खानैपर्ने यि चिजहरु ओसारपसारमा हामीलाई समस्या भइरहेको छ । ’
निरौलाले अझै अगाडी भन्नुभयो, ‘हामीले मकै खेती गरेका थियौं, राजमार्गदेखि तल ५०/६० बिगाह । त्यो मकै ल्याएर खुवाउने विषयमा पनि अहिले हामीलाई चुनौति भइरहेको छ । दाना व्यापारीहरुले समयमा दान दिन सकिरहेका छैनन् भने ल्याउन पनि हामीलाई समस्या भइरहेको छ ।’
त्यो सँगै उत्पादित दूधलाई बजार लैजान पनि समस्या भएको उहाँले बताउनुभयो ।
जिल्लाका विभिन्न स्थानबाट गाइलाई खुवाउने मकै लगायत अन्य सामग्री ढुवानीमा कठिनाइ भएको अर्का किसान विशाल राईले बताउनुभयो ।
राईले भन्नुभयो, ‘गाईलाई मजाले खुवाउन पाइएको छैन । दानाको अभाव भइरहेको छ । गाडीहरु राम्रोसँग कुद्न पाएको छैन । त्यसकारण दाना ल्याउन पाएको छैन, घाँस ल्याउन पाएको छैन ।’
लकडाउन अर्थात् बन्दाबन्दीको समयमा गाई बिरामी परे औषधी उपचारमा समेत किसानले समस्या खेपिरहेका छन् ।
हाल औषधीको समस्या रहेको पशु प्राविधिक करुण अधिकारी बताउनुहुन्छ । बन्दका कारण औषधि अभावका साथै पशुवस्तुको उपचारमा समेत समस्या भएको उहाँको भनाइ छ ।
कोरोना संक्रमण हुन नदिन सरकारले गरेको लकडाउन अर्थात् बन्दाबन्दी प्रभावकारी भएपनि किसानको हकमा विकल्प दिनुपर्छ । स्थानीय सरकारले किसानका गाई बँचाउन र उत्पादित दूध बिक्री गर्न सहयोग गर्नुपर्ने उनीहरुको माग छ ।
अडियो सुन्नुहोस् :
प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०७७, १७:०९