काठमाडौँ । नोबेल कोरोना भाइरस (कोभिड १९) ले बालबालिकामा पर्ने असर, जोगिनका लागि अपनाउनुपर्ने सावधानी केन्द्रीत गरी हाँस्यप्रधान कार्यक्रम ‘पवनकली सो’ सुरु हुने भएको छ।
कार्यक्रम मूलतः बालबालिका लक्षित हुने भए पनि समग्र स्रोता/दर्शकले पनि मनोरञ्जन र सूचना प्राप्त गरी लाभ लिन सक्नेछन्।
कार्यक्रम युट्युब र रेडियो माध्यममा आधारित रही उत्पादन र प्रसारण गरिनेछ। ‘पवनकली सो’ कार्यक्रम यही वैशाख १४ देखि हरेक आइतबार बिहान ७ः१५ देखि ७ः३० सम्म सामुदायिक सूचना नेटवर्क (सिआईएन) मार्फत् देशैभरिका सामुदायिक रेडियोहरु, युट्युब र सामाजिक सञ्जालबाट प्रसारण हुनेछ।
‘कोभिड–१९ का कारण सिर्जित अहिलेको विषम परिस्थितिमा सञ्चारमाध्यमहरुमा बालमैत्री सूचनामूलक सामग्रीको आवश्यकतालाई महसुस गरेर सेभ द चिल्ड्रेनले ‘पवनकली सो’ कार्यक्रमसँग सहकार्य गरी बालबालिका र समग्र श्रोतारदर्शकलाई लक्षित सामग्रीहरु प्रशारण गर्न लागिएको सेभ द चिल्ड्रेनका अन्तरिम राष्ट्रिय निर्देशक बन्दना रिसालले बताउनुभयो ।
यस कार्यक्रमले श्रोता/दर्शकलाई आफ्नो व्यवहार परिवर्तनका लागि अबलम्बन गर्नुपर्ने आनीबानीका बारेमा झक्झकाउने, सकारात्मक व्यवहारका लागि उत्प्रेरित गर्ने र फलस्वरुप कोभिड-१९ को संक्रमण रोक्नका लागि मद्दत पुर्याउने अपेक्षा गरिएको छ ।
रंगकर्मी तथा नायिका लुनिभा तुलाधरले ‘पवनकली सो’ कार्यक्रम सञ्चालन गर्नुहुनेछ ।
सेभ द चिल्ड्रेन, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रसँगको सहकार्यमा ‘पवनकली सो’ कार्यक्रम प्रसारण हुन लागेको हो ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०७७, १५:५६