काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच समसामयिक विषयमा छलफल भएको छ ।
दिउँसो ३ बजेदेखि ४ बजेसम्म प्रधानमन्त्री ओली र देउवाबीच छलफल भएको थियो ।
नोबेल कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण तथा रोकथाम, राजनीतिक दलहरुबीच सहकार्यको अवस्था, विवादमा परेका अध्यादेश, फिर्ता लिएपछिको अवस्थाका बारेमा दुई नेताबीच कुराकानी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।
काँग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले प्रधानमन्त्री समक्ष सभापति देवाले दुबै अध्यादेश फिर्ता लिएर गल्ती सच्याएकोमा धन्यवाद दिएको बताउनुभयो ।
एकजना सांसदलाई अपहरण शैलीमा काठमाडौं ल्याउन जो संलग्न छन्, तिनलाई कारबाही गर्नुपर्ने, कोरोनाको परीक्षण व्यापक बनाउन, स्वास्थकर्मीहरुलाई पीपिइ लगायतका सामग्रीको व्यवस्था गर्न, स्वास्थकर्मीलाई हतोत्साहित गर्न खोज्ने काम बन्द गर्न, श्रमिकलाई कि खान दिन कि गाउँ जान दिन पनि सभापति देउवाले प्रधानमन्त्री समक्ष अनुरोध गर्नु भएको पनि मुख्य सचिव पौडेलको भनाइ छ ।
प्रधानमन्त्री ओली र काँग्रेस सभापति देउवाबीचको छलफल सकिएपछि अहिले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि बालुवाटार पुग्नुभएको थियो । तीन नेताबीच पनि समसामयिक विषयमा छलफल भएको छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०७७, १६:५८