रेडियो त्रिशुली नुवाकोट ।
कोरोना भाइरसको संक्रमण फैलन नदिन विश्वव्यापी रुपमा भइरहेको लकडाउन अर्थात् बन्दाबन्दीले दुःख मात्रै भएको छैन । यसले सकारात्मक परिवतनको संकेत पनि गरेको छ ।
शहरबाट मानिसहरु अहिले गाउँ फर्किएका छन् ।
बन्दाबन्दीका कारण मानिसहरू अहिले घरमा नै बसिरहरेका छन् । शहरी क्षेत्र भन्दा ग्रामिण क्षेत्रमा नागरिकको घनत्व बढि देखिएको छ ।
लामो समयसम्म गाउँ नफर्किएकाहरु पनि अहिले गाउँको हावापानी, स्वच्छता र विकासको चर्चा गरिरहेका छन् ।
कोरोनाको कारण विश्वमा लाखौको रोजगारी गुम्ने आकलन गरिएको छ । यसो भएमा नेपालको बैदेशिक रोजगारीको दर घट्ने छ । युवाहरू फर्किएर नेपाल आउनेछन् ।
र, यहि नेपालमा नै बसेर उद्यम गर्लान् भन्ने अपेक्षा गर्न सकिने बताउनुहुन्छ, नुवाकोट उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष शरण उत्सुक सापकोटा ।
सापकोटाले भन्नुभयो, ‘कोरोनाको कारणले गर्दा अब हाम्रो उत्पादकत्व बढ्छ । अब गाउँमा हिजोको जस्तो हामीले मलामी खोज्नु पर्दैन । काम गर्ने मान्छे खोज्नलाई अब हामीले बाहिर जानु पर्दैन । पाखा बारीहरुमा अब हरियाली बढ्नेछन् । घर लिपपोत हुनेछ । उकाली ओरालीहरु, हाम्रा चौबाटोहरूमा मान्छेको डामहरु देखिन्छ, किनकी मानिसहरू हिडडुल गर्छन्, त्यसले गर्दा अब गाउँमा विकास हुन्छ । स्थानीय सरकारहरूले अब यतातिर सोच्नुपर्छ । यसलाई हामीले एउटा अवसरको रुपमा लिन सक्छौं ।’
यदि युवाहरू स्वदेश फर्किएर उद्यम गर्न थाले भने एक्लिदै गएको गाउँघर फेरि फेरिने छ ।
कोरोनाका कारण मानिसहरू स्वास्थ्य प्रति सचेत भएका छन् । अनि यसले मानिसहरूलाई अनुशासित बन्न पनि सिकाएको जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङको भनाइ छ ।
लडकडाउन अघि र पछि गरेर २० हजार भन्दा बढि मानिस नुवाकोट आएका छन् । उनीहरुमध्ये धेरैले गाउँमा पनि केही न केही सृजनशिल काम गर्न चाहन्छन् ।
कोरोनाको कहरले नेपालको गाउँघरलाई पुर्नजीवन देला ? त्यो थाहा पाउन भने केही समय कुर्नुपर्ने हुन्छ ।
प्रकाशित मिति: शनिबार, वैशाख १३, २०७७, ०८:१६