काठमाडौँ । नोबेल कोरोना भाइरस (कोभिड १९) सँग जुध्नका लागि संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी) ले सामुदायिक सूचना नेटवर्क (सीआईएन) र सामुदायिक रेडियोमा कार्यरत रेडियोकर्मीलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
अहिलेको सङ्कटको बेला कार्यक्रम, समाचार बनाउन खटिने सामुदायिक रेडियोकर्मीहरूलाई राहात होस् भनेर मास्क र पञ्जा उपलब्ध गराएको हो ।
सामुदायिक सूचना नेटवर्क (सीआइएनको) आग्रहमा यूएनडीपीले ५ लाख रुपैयाँभन्दा बढीको केएन ९५ मास्क र पञ्जा उपलब्ध गराएको छ । सबै सामुदायिक रेडियोकर्मीलाई नपुगे पनि निरन्तर समाचारमा खटिने केही सामुदायिक रेडियोकर्मीलाई राहात होस् भनेर पञ्जा र मास्क उपलब्ध गराएको यूएनडीपीले जनाएको छ ।
संयुक्त राष्ट्रसङ्घीय आवासीय संयोजक भेलरी जुलियाण्डले सीआईएनका समाचार प्रमुख गोविन्द खड्कालाई स्वास्थ्य सामग्री हस्तान्त्रण गर्नुभयो ।
सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) को संयन्त्रमार्फत समाचार र कार्यक्रमका लागि खटिनुपर्ने केही रेडियोकर्मीलाई मास्क उपलब्ध गराइने छ ।
रेडियोकर्मीलाई कोभिड १९ को जोखिमबाट बच्न सजिलो होस् भन्नका लागि सीआईएनको माग अनुसार मास्क र पञ्जा उपलब्ध गराइएको यूएनडीपीका सञ्चार प्रमुख कमलराज सिग्देलले जानकारी दिनुभयो ।
प्रकाशित मिति: शनिबार, वैशाख १३, २०७७, १५:५८