काठमाडौँ । सरकारले नोबेल कोरोना भाइरस, कोभिड १९ को सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि मुलुकभर जारी गरेको लकडाउन अर्थात बन्दाबन्दीलाई यही वैशाख २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले बन्दाबन्दीको समयावधि चौथो पटक १० दिन थप्ने निर्णय गरेको सरकारका प्रवक्ता अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा युवराज खतिवडाले जानकारी दिनुभयो ।
कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको हिजोको बैठकले भने बन्दाबन्दी एक हप्ता थप्न सिफारिस गरेको थियो । कोरोना सङ्क्रमित दोस्रो व्यक्ति भेटिए लगतै सरकारले गत चैत ११ बाट बन्दाबन्दीको आदेश जारी गरेको थियो ।
अन्तराष्ट्रिय सीमा नाकामा वैशाख ३१ गतेसम्म अवागमन रोक्ने निर्णय पनि सरकारले गरेको छ । बाह्य जगतबाट जोखिम नहोस् भनेर सीमा नाकामा आवागमन रोक्ने निर्णय गरिएको मन्त्री खतिवडाले बनाउनुभयो ।
ईपीएस अन्तरगत दक्षिण कोरियामा कामदार पठाउने निर्णय पनि सरकारले गरेको छ । दुई देशको आपसी सहमतिमा कामदार पठाउने निर्णय भएको उहाँले जानकारी दिनुभयो ।
प्रकाशित मिति: आइतबार, वैशाख १४, २०७७, २०:४९