काठमाडौं । राष्ट्रिय सहकारी महासंघ, गैर सरकारी संस्था महासंघ र सामुदायिक रेडियो प्रसारक संघ (अकोराव) नेपालले कोरोना भाइरस (कोभिड १९) महामारीले उत्पन्न गरेको चुनौतीको सामना गर्न सहकार्य गर्ने भएका छन् ।
यो संकटको अवस्थामा बृद्घबृद्घा, बालबालिका, विशेष अवस्थाका महिला, एवं फरक क्षमता भएकाहरु तथा किसान र दैनिक ज्यालादारीहरु प्रतिको हाम्रो जिम्मेवारीमा प्रतिबद्घ रहँदै अत्यावश्यक सूचना प्रवाहको निरन्तरताको लागि राष्ट्रिय सहकारी महासंघ, गैर सरकारी संस्था महासंघ र सामुदायिक रेडियो प्रसारक संघले ५ वुँदे सहकार्य र साझेदारीको प्रतिबद्दता व्यक्त गरेका हुन् ।
लकडाउनका कारण सामुदायिक रेडियो दैनिक सञ्चालन समेत कठिन बन्न थालेको अवस्थालाई मध्यनजर गर्दै तत्काल रेडियो सञ्चालनको लागि अत्यावश्यक श्रोत साधनमा सक्दो सहयोगका निम्ति सहकार्य गर्ने प्रतिबद्दता व्यक्त गरेका छन् ।
राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेल, गैर सरकारी संस्था महासंघका अध्यक्ष जीतराम लामा र सामुदायिक रेडियो प्रसारक संघका अध्यक्ष सुवास खतिवडाले हस्ताक्षर गरेको बिज्ञप्तीमा अन्य सञ्चार माध्यमको पहुँच पुग्न नसकेको स्थानमा समेत नागरिकको सहज पहुँचमा रहेको सामुदायिक रेडियोले कोरोना भाइरस संक्रमण फैलिन नदिन नागरिकलाई सचेत र सूसुचित गर्ने अभियानलाई निरन्तरता दिन सहयोग गर्ने प्रतिबद्दता व्यक्त गरिएको छ ।
विज्ञप्तीको पूर्ण पाठ ।
प्रकाशित मिति: सोमबार, वैशाख १५, २०७७, २०:०९