काठमाडौं । सरकारले ल्याएको राजनीतिक दल विभाजन र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश प्रकरणले नेकपाभित्र ध्रुवीकरण सुरु भएको छ । निस्कृय पार्न खाजेका गुटहरु फेरि विउँतिएका छन् । शीर्ष नेताहरूबीचको सम्वाद र दौडधुप बाक्लिएका छन् । सोमबार दिनभरी भएका गुटगत आन्तरिक छलफल, दुईपक्षित गुटवार्तापछि आज सचिवालयको बैठक बोलाइएको छ । सचिवालय सदस्य झलनाथ खनालका अनुसार सोमबार शीर्ष नेताहरूको बीचमा भएको छलफलबमोजिम सचिवालय र स्थायी कमिटीका बैठक तत्कालै बोलाउने सहमति भएको छ ।
खुमलटारमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भएको छलफलमा आफूले पार्टी तथा सरकारलाई चुस्त गतिमा सञ्चालन गर्न पार्टी बैठक अनिवार्य बोलाउनुपर्ने सुझाव दिएको भन्दै उहाँले मङ्गलबारका लागि सचिवालयको बैठक बोलाइएको जानकारी दिनुभयो ।
सचिवालय बैठकले नै स्थायी कमिटीको बैठक बोलाउने निर्णय गर्ने तयारी भएको स्थायी समितिका सदस्य भीम रावलले बताउनुभयो । यसअघि स्थायी कमिटीका २० जना सदस्यले बैठकको माग गरी पार्टी अध्यक्षलाई लिखित पत्र नै दिएको उहाँले बताउनुभयो ।
सोमबार नै नेकपाका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र पार्टीका सचिवालय सदस्य माधवकुमार नेपालबीच बालुवाटारमा छलफल भएको थियो । त्यसपछि नेता नेपालको निवास कोटेश्वरमा पनि शीर्ष नेताहरूको बीचमा छलफल भएको थियो ।
सहमतिको सुत्र
नेपाल पक्षले एक व्यक्ति एकपदको पुरानो अडान फेरि छलफलमा ल्याएको छ । केपी शर्मा ओलीले की पार्टी अध्यक्ष कीत प्रधानमन्त्री पद छाडनुपर्ने तर्क छ । ओली पक्षले मन्त्रिपरिषद् पुनर्गठन र मुख्यमन्त्री हेरफेरमा सहमति गरेर एकसाथ जानुपर्ने प्रस्ताव राखेको छ ।
केन्द्रीय सचिवालयका ९ मध्ये ६ जना यसका विपक्षमा उभिएका छन्, । स्थायी कमिटीका ४४ मध्ये २० जनाले गम्भीर असहमति जनाउँदै स्थायी कमिटी बैठकको माग गरेका छन्। यसमा ६ मन्त्री र ६ जना सचिवालय सदस्य छन् ।
तीन नेताका तीन तीर
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड माधव नेपाललाई प्रधानमन्त्री बनाएर शक्तिशाली अध्यक्ष बन्न खोजिरहनु भएको छ । प्रधानमन्त्री ओली आफु सत्तामा रहेर नेपाललाई अध्यक्ष बनाउन खोजिरहनु भएको छ । नेता नेपाल दुईटैलाई साइजमा ल्याएर आफु प्रधानमन्त्री भएर सत्तामा जान खोज्नु भएको छ । तीन गुटका तीनतीरको घानमा नेकपाका नेता , कार्यकर्ता परेका छन् ।
प्रकाशित मिति: मंगलबार, वैशाख १६, २०७७, ०८:३७