काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाभित्र आन्तरिक विवाद उत्कर्षमा पुगेपछि सरकारको नेतृत्व परिवर्तनबारे छलफल सुरु भएको छ । गुटगत रूपमा सुरु भएको छलफल आज औपचारिक रूपमा पार्टी सचिवालयमा प्रवेश गर्नेछ ।
आज बस्ने सचिवालय बैठकमा नेता माधवकुमार नेपाल समूहले पार्टी नेतृत्व परिवर्तन गर्ने विषयमा प्रस्ताव राख्ने तयारी गरेको छ । पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल पचण्डले पनि त्यसमा समर्थन जनाउने नेपाल समूहका एक नेताले सीआईएनलाई जानकारी दिए ।
नेकपाभित्रको विवादले राजीनामाका लागि दबाब बढ्दै गएपछि प्रधानमन्त्री केपी शर्मा ओली संसदीय दलमा बहुमत पु¥याउने प्रयासमा जुटनु भएको छ । सांसदलाई सामूहिक र व्यक्तिगत रूपमा भेट गरिरहनु भएको छ ।
नेताहरूको निरन्तर दौडधुप र अनौपचारिक संवादपछि नेकपा सचिवालय बैठक आज साँझ बस्ने तय भएको छ । अध्यक्षद्वय ओली र प्रचण्ड तथा वरिष्ठ नेता माधवकुमार नेपालबीचको बेग्लाबेग्लै संवादपछि सचिवालय बैठक बोलाइएको हो ।
दुई अध्यक्षबीच हिजो दुईघण्टा छलफल भएको थियो । बैठक आज साँझ ५ बजेका लागि बोलाइएको छ ।
संसदीय दलको हिसावकिताव
पार्टी सचिवालय, स्थायी समिति र केन्द्रीय समितिमा भने ओली अल्पमतमा हुनुहुन्छ । नेकपामा एक सय ७४ सांसद छन् । संसदीय दलमा बहुमतका लागि ८८ सांसद आवश्यक पर्छ ।
नेकपा संसदीय दलमा पूर्व एमालेको एक सय २१ तथा पूर्व माओवादी समूहका ५३ सांसद छन् । वरिष्ठ नेता झलनाथ खनाल र उपाध्यक्ष वामदेव गौतमसहित नेपाल समूहमा ४३ सांसद भएको सो समूहको हिसाब छ ।
यसरी आफ्नो पक्षमा ९६ जना भएको र ओली समूहबाट पनि केही मान्छे जोडिँदा एक सय नाघ्ने हिसाब प्रचण्ड–नेपाल समूहको छ । तर ओली एक्लैसँग ७८ सांसद रहेको उहाँनिकट नेताहरूको दाबी छ ।
बहुमतका लागि ८८ जना सांसद आवश्यक हुने भएकाले थप १० सांसद जोड्न सो समूह सक्रिय छ । प्रधानमन्त्री ओलीले जनमतविपरीत मुलुकलाई अस्थिरतातर्फ लैजाने चलखेल सुरु भएको भन्दै त्यसविरुद्ध सङ्गठित हुन निकटका सांसदहरूलाई बालुवाटार बोलाएर आग्रह गरिसक्नु भएको छ ।
फरक फरक रणनीति
एमाले—माओवादी एकताका बेला केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको सहमति कायमै हुँदो हो त आउँदो भदौमा ओलीले प्रचण्डलाई सत्ता हस्तान्तरण गर्नुपर्ने हुन्थ्यो ।
बीचमै ओलीको अडानले उहाँ नै पाँचै वर्ष सरकार चलाउने र प्रचण्डले कार्यकारी अध्यक्षका रूपमा पार्टीको नेतृत्व गर्ने निर्णय भयो ।
आन्तरिक असन्तुष्टि बढे पनि त्यही निणर्यको जगमा पार्टी अगाडि बढीरहेका बेला फेरि अध्यादेश काण्डले पार्टीको आन्तरिक एकताको जग मात्रै होइन पधानमन्त्रीको कुर्सी पनि हल्लाएको छ ।
अध्यादेश प्रकरणले उत्पन्न गरेको तरङ्गले मुख्गरी तीन नेताका आन्तरिक आकाङ्क्षा छचल्किएका छन् । तीनवटा नेताका, तीनवटा रणनीति छन् र तीनैतिर ताकेको देखिन्छ ।
ओली पक्षको रणनीति
ओली पक्षले माधव नेपाललाई फकाउन मूलतस् तीन वटा अस्त्र उपयोग गरेको छ । पहिलो– महाधिवेशनपछि अध्यक्ष बनाउने । दोस्रो– प्रदेश १ र बाग्मती प्रदेशको मुख्यमन्त्री नेपाल पक्षलाई दिने । तेस्रो– संघीय मन्त्रिपरिषद्मा नेपाल पक्षका नेताहरू थप्ने । तर पटक पटक धोका खाएको भन्दै नेपाल उधारोमा सहमति गर्ने पक्षमा देखिनु भएको छैन ।
–प्रधानमन्त्रीको पद कायम राखेर पार्टी संरचनामा नयाँ ढङ्गले जाने
–प्रचण्डलाई होइन नेपाललाई नजिक ल्याउने पूर्व एमाले एक होऔं भन्ने रणनीतिका साथ अगाडि बढ्ने
–आवश्यक परे पार्टीको एकल अध्यक्ष नेपाललाई बनाएर मन्त्री फेरबदल गर्ने तर प्रधानमन्त्री पद नछाडने
प्रचण्ड रणनीति
–पार्टीको शक्तिशाली र एकल अध्यक्ष बन्न नेपालाई प्रधानमन्त्री बनाउने र ओलीलाई हटाउने । नेपाललाई पधानमन्त्री नाई नभन्नुहोस् है भनेर हिजोमात्रै भनिसक्नु भएको छ ।
–नेपालले नमाने ओलीलाई नै आफूलाई एक अध्यक्ष छाडन तयार हुनुभयो भने साथ दिन्छु भनेर अगाडि बढ्ने नेपाल समूहलाई कमजोर बनाउने ।
– पूर्व माओवादी एकहोऔँ भन्ने आन्तरिक रणनीतिलाई बलियो बनाएर पूर्व एमाले खासगरी ओली–नेपालवाहेका तेस्रोधार ( झलनाथ खनाल, वामदेव गौतम) का नेतालाई आफूतिर तान्ने ।
नेपाल पक्षको रणनीति
–एक व्यक्ति, एक पद कार्यान्वयन गराउने
–प्रधानमन्त्री नेपाललाई बनाउने ÷त्यो नभए मुख्यमन्त्री, मन्त्रीसम्म फेरबदलमा जाने
–पार्टी अध्यक्ष ओली र प्रचण्डमध्ये जो आफ्नो एजेण्डा वा नगदमा सहमति जनाउन तयार हुन्छ उतैतिर ढल्किने
–तलदेखि माथिसम्म अवसरको समानुपातिक वितरण सुरक्षित बनाउने । पूर्व एमालेले नेतृत्व गर्ने चारमध्ये दुई प्रदेशमा मुख्यमन्त्री अडान राख्ने त्यो सम्भव नभए कम्तिमा वागमती प्रदेशमा अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाउने ।
तीनै नेताको स्वभाव र आकाक्ष
इख राखिरहने र मौका पाउनासाथ बदला लिने ओलीको स्वभाव छ । मनमा तुस पालेर बस्ने र त्यस अनुसारको रणनीति बनाउने नेपाल चरित्र देखिन्छ ।
शक्ति आफैमा केन्दित गर्ने बानीको विकास गर्नुभएका पचण्ड नेपाललाई प्रधानमन्त्री दिएर एक तीर, दुई शिकार गर्न खोजिरहनु भएको छ । पूर्व एमालेमा विभाजन र कटुता ल्याउने र महाधिवेशनसम्मै राजनीतिक फाइदा लिन सकिन्छ कि भन्ने उहाँको दाउ देखिन्छ ।
तीन प्रमुख नेताहरूका तीन तिरले गुटगत ध्रुवीकरण गाउँसम्म फेरि सतहमा आउने देखिन्छ । सभामुख चयनका क्रममा पनि पार्टीभित्र पूर्व एमाले र पूर्व माओवादी एक होऔँ भन्ने आन्तरिक बहस भएको थियो ।
अहिले फेरि लेगेसीको कुरा उठिरहेको छ । यसले पार्टी एकतामा ठूलो असर गर्ने चिन्ता पार्टीभित्रैबाट भइरहेको छ ।
प्रकाशित मिति: बुधबार, वैशाख १७, २०७७, ०७:३६