सिमरा/बारा ।
नेपाल आयल निगम प्रादेशिक डिपो कार्यालय अमलेखगञ्जले रक्सौल तथा बरौनी रिफाइनरीबाट ईन्धन लोड भएर आएका गाडी र सो का चालकलाई निसङ्क्रमण गरेर मात्रै डिपो प्रवेश गराउन थालेको छ ।
भारतीय शहर रक्सौल तथा बरौनीबाट ईन्धन लिएर आउने ट्याङकर र चालकबाट कोरोना संक्रमणको जोखिम बढेको भन्दै अमलेखगञ्जका स्थानीयले बिरोध गरेपछि कार्यालयले गाडी र चालकलाई पूर्ण रुपमा निसङ्क्रमण गरेर मात्रै प्रवेश गराउन थालेको हो ।
डिपो प्रवेश गर्नुअघि थर्मल गन मार्फत् चालक र सहचालकको तापक्रम समेत चेकजाँच गर्ने गरिएको कार्यालय प्रमुख भरत रेग्मीले जानकारी दिनुभयो ।
भारतमा कोभिड १९ संक्रमणको दर तिब्र रुपमा बढ्दै गईरहेकाले त्यहाँ ईन्धन भर्ने क्रममा भारतीय ब्यक्तीसँग सम्पर्क हुँदा कोरोना सर्नसक्ने जोखिमलाई मध्येनजर गर्दै स्वास्थ्य सुरक्षामा थप सजगता अपनाइएको उहाँको भनाइ छ ।
कार्यालयले ट्याङ्कर चालकहरुका लागि एप्रोन, मास्क, पञ्जा लगायत व्यक्तिगत सुरक्षाका सामग्री समेत उपलब्ध गराएको छ । भारतबाट डिजेल पाइपलाईनमार्फत भित्रिने गरेपनि पेट्रोल, मट्टितेल र हवाई ईन्धन ट्याङ्करमार्फत नै ढुवानी हुँदै आएको छ ।
प्रकाशित मिति: बुधबार, वैशाख १७, २०७७, १३:०५