काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सीके राउतलाई देखाएर स्वार्थको रोटी सेक्नेका दिन अब सकिएको बताउनु भएको छ ।
राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धन र सरकारबीच आज राष्ट्रियसभा गृहमा भएको सहमतिपछि सम्बोधन गर्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘असाधारण निर्णय गर्ने क्षमता मैले सीके राउतमा देखेको छु । यतिका पढेलेखेको व्यक्ति बाटो बिराउँदै बिग्रिने हो कि भन्ने डर मलाई लाग्ने गरेको थियो । जनताको अभिमत सर्वोपरि हुन्छ भन्ने मान्यता फेरि स्थापित भएको छ ।’
मुलुक समृद्धिको बाटोमा लम्केको टिप्पणी गर्दै प्रधानमन्त्रीले भ्रष्टाचारको सङ्ख्या घटेको तर कारबाही बढेको दावी गर्नुभयो । विप्लव नेतृत्वको नेकपाले विध्वंश मच्चाउँदै आएकोमा सरकारले सहेर नबस्ने पनि उहाँको भनाइ छ ।
शान्ति सुरक्षा कायम गर्नका लागि सरकारले जस्तोसुकै निर्णय लिने भन्दै प्रधानमन्त्रीले चन्दा, आतङ्क लगायतका क्रियाकपाल बन्द गरी संवाद र छलफलमा आउन पनि आग्रह गर्नुभयो ।
राष्ट्रिय सभागृहमा आयोजित समारोहलाई राजनीतिक सहमति घोषणा कार्यक्रमको नाम दिइएको थियो । कार्यक्रममा संयोजक राउतले आजको दिन दिन ऐतिहासिक भएको बताउनुभयो । राज्य र आफूहरू दुवै चिन्तित रहेको उल्लेख गर्दै स्थिति नियन्त्रणमा रहने वा नरने भन्ने चिन्ता दिनरात लाग्ने गरेको उहाँको भनाइ छ ।
आफूहरूको आन्दोलनले शान्ति र सुरक्षित रूपमा अवतरण गर्नु सबै नेपालीका लागि खुसीको कुरा भएको राउतले बताउनुभयो । आफ्नोस्तरबाट पहल गरेर निकास दिन सहयोग गरेकोमा प्रधानमन्त्री केपी शर्मा ओली लगायत पूर्व प्रधानमन्त्रीलाई पनि राउतले धन्यवाद दिनुभयो ।
२०५९ मा आफूहरूले काठमाडौँमा पत्रकार सम्मेलन गरी आन्दोलनको सुरुवात गरेको सम्झँदै उहाँले भन्नुभयो, ‘अरु प्रधानमन्त्रीले पनि दवाव नदिएका कारण जुनसुकै बेला बिस्फोट हुने अवस्था आएन । हामी बुद्धका सन्तान भएका कारण सबैमा शान्तिको भावना, अहिंसाको भावना कहिल्यै नहराउने गरेछ ।’ अहिंसामा विश्वास गर्ने अरु समूहका लगि पनि आफूहरूको अवतरण प्रेरणाको स्रोत बन्ने संयोजक राउतले विश्वास व्यक्त गर्नुभयो ।
हिजोमात्रै सर्वोच्च अदालतले सीके राउतलाई रिहा गर्न आदेश दिएको थियो ।
सरकार र सीके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनबीच ११ बुँदे सहमति भएको छ ।
राष्ट्रियसभा गृहमा आज भएको विशेष कार्यक्रममा सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा र गठबन्धनका तर्फबाट संयोजक राउतले हस्ताक्षर गर्नु भएको छ । हस्ताक्षर कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका शीर्ष नेताहरूको सहभागिता थियो ।
सहमतिको सुरुमा नेपाल अखण्ड स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न राष्ट्र हो यो नै महत्वपूर्ण कुरा हो भन्ने बुँदा छ । राउत र अरु कार्यकर्तालाई लगाएका सम्पूर्ण मुद्दा फिर्ता गर्ने, पक्राउ गरेका कार्यकर्ता रिहा गर्ने, केही समयअघि प्रहरी हिरासतमै मृत्यु भएका राउतका कार्यकर्ता राममनोहर यादव परिवारलाई क्षतिपूर्ति दिने, उनका परिवारका एक जना सदस्यलाई रोजगारी दिने लगायतका सहमति सरकारसँग भएको छ ।
सरकारसँग भएको सहमति अनुसार राउत र उनका कार्यकर्ताले अब स्वतन्त्र मधेसको नाममा पम्पलेट छाप्ने छैनन् ।
सरकार र राउतको गठबन्धनबीच भएको सहमतिका बुँदाः
१) संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल एक स्वतन्त्र, स्वाधिन, सार्वभौमसत्ता सम्पन्न अभिवाज्य राष्ट्र हो। नेपाल राष्ट्रको स्वतन्त्रता, स्वाधिनता, सार्वभौमसत्ता र अखण्डता रक्षा गर्नु प्रत्येक नेपालीको कर्तव्य हो।
२) राजनीतिक, सामाजिक, आर्थिक लगायतका उद्येश्यहरु प्राप्तिका निम्ति शान्तिपूर्ण र लोकतान्त्रिक बाटोबाट अघि बढ्नु पर्छ भन्नेमा हामी दृढ छौं। नेपालको संविधानमा प्रयुक्त जनतामा निहित सार्वभौम अधिकारको प्रयोग गर्दै तराइमधेश लगायत देशका विभिन्न स्थानमा रहेका असन्तुष्टिहरुलाई जनअभिमतमा आधारित लोकतान्त्रिक विधिबाट समाधान गर्न सहमत भएका छौं।
३) लोकतन्त्रमा मतभेदहरु हुन सक्छन्। तर, तिनीहरुप्रति राज्य, राजनीतिक दल र आम नागरिक सहिष्णु हुनुपर्छ। त्यस्ता मतभेदहरुको समाधान पनि लोकतान्त्रिक विधिबाटै गरिनुपर्छ भन्ने मान्यतामा दृढ छौं।
४) सामाजिक न्याय, समानता र सदभाव हाम्रो साझा उद्धेश्य हो। हामी तराइमधेश लगायत समग्र राष्ट्रका जनतालाई राजनीतिक आर्थिक तथा सामाजिक दृष्टिले अधिकार सम्पन्न तुल्याएर तराइमधेश लगायत समग्र देशको विकासलाई दु्रत गतिमा अघि बढाउन प्रतिबद्ध छौं। त्यसैगरी, संविधान प्रदत्त नेपाली जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्वसानको अधिकारलाई आत्मसात गर्न र तराइमधेश लगायत समग्र देशमा शुसासन कायम गर्दै समनता र समाजवाद कायम गर्न प्रतिबद्ध छौं।
५) स्वतन्त्र मधेश गठबन्धनका नेता तथा कार्यकर्ताहरुलगायतमाथि लगाइएका राज्य विरुद्धका अपराध लगायत सबै राजनीतिक मुद्धाहरु फिर्ता लिइनेछ। कारागारमा रहेका सम्पूर्ण नेता तथा कार्यकर्ताहरुलाई निशर्त रिहा गरिने छ।
६) स्वतन्त्र मधेश गठबन्धन तथा यसका नेता कार्यकर्ताहरुद्वारा यसअघि तयार पारिएका र पहिले प्रचलनमा रहेका किताब, पर्चा, पम्पलेट, घोषणापत्र, गीत, नक्सा, नारा, झण्डा, अनलाईन सामग्री आदिलाई भविष्यमा कारबाहीको विषय बनाइने छैन। आगामी दिनमा संविधानको व्यवस्था र यस सहमति प्रतिकुलका प्रचार सामग्रीहरु उत्पादन र वितरण गरिने छैन।
७) स्वतन्त्र मधेश गठबन्धनका नेता, कार्यकर्ता तथा समर्थकहरुलाई नेपालको संविधान प्रदत्त अधिकारको प्रयोग गर्दै नेपालभित्र बसोबास गर्न, जीविकोपार्जन गर्न, संघसंस्था वा पार्टी खोल्न वा संगठित भएर मूलधारको राजनीति गर्न कुनै किसिमको अवरोध खडा गरिने छैन। र, त्यस्ता अधिकार प्रयोग गरेबापत राज्यद्वारा कुनै किसिमको कारबाही गरिनेछैन।
८) २०७५ भदौ १५ गते नेपाल प्रहरीको हिरासतमा मृत्यु भएका स्वतन्त्र मधेश गठबन्धनका बाँके जिल्ला संयोजक राममनोहर यादवको परिवारलाई राज्यद्वारा उचित क्षतिपूर्तिका साथै परिवारका एक सदस्यलाई रोजगारीको व्यवस्था गरिने छ।
९) स्वतन्त्र मधेश गठबन्धनको आयोजनमा सञ्चालित आन्दोलनका क्रममा घाइते भएकाहरुको उपचारको जिम्मा सरकारले लिने छ।
१०) स्वतन्त्र मधेश गठबन्धनका नेता तथा कार्यकर्तामा रहेको ज्ञान, सीप र सामथ्र्यलाई तराइमधेश लगायत समग्र देशका जनता र राष्ट्रको शान्तिपूर्ण एवम लोकतान्त्रिक विकास र खुशहालीको लागि नयाँ उचाइका साथ सदुपयोग गर्न र सरकारका तर्फबाट स्वतन्त्र मधेश गठबन्धनलाई एक लोकतान्त्रिक राजनीतिक शक्तिका रुपमा व्यवहार गर्न सहमत भएका छौं।
११) यो सहमति आजैका मितिबाट लागु हुनेछ।
नेपाल सरकारका प्रतिनिधि
रामबहादुर थापा, गृहमन्त्री
स्वतन्त्र मधेश गठबन्धनका तर्फबाट
चन्द्रकान्त (सिके) राउत, संयोजक
प्रकाशित मिति: शुक्रबार, फागुन २४, २०७५, १५:२९