काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली पदबाट राजीनामा दिन तयार देखिनुभएको छ । राजनीनामा दिने बताए पनि नोबेल कोरोना भाइरस अर्थात कोभिड १९ नियन्त्रणमा आएपछि मात्र बालुवाटार छोड्ने उहाँको भनाइ थियो ।
बालुवाटारमा हिजो बसेको नेकपा सचिवालयको बैठकमा ओलीले आफूले राजनीनामा दिने तर प्रधानमन्त्री भने नेता बामदेव गौतमलाई बनाउने विचार राख्नुभएको एक नेताले सीआईएनसँग बताए ।
त्यसका लागि राष्ट्रिय सभाका सदस्य पनि प्रधानमन्त्री हुने गरी संविधान संसोधन गर्न सकिनेमा उहाँको जोड थियो । प्रधानमन्त्री ओलीले नेता माधवकुमार नेपाललाई पार्टीको तेस्रो अध्यक्ष बनाउने प्रस्ताव पनि सचिवालय बैठकमा गर्नुभएको छ ।
प्रधानमन्त्रीको प्रस्तावसँगै नेकपाको आन्तरिक विवाद नयाँ शिराबाट अघि बढ्ने अनुमान गरिएको छ । नेता गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्तावमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापालगायतले समर्थन जनाएको बालुवाटार स्रोतले जनाएको छ ।
सचिवालय बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने पार्टी एकताविरुद्ध सक्रिय रहेको आरोप लगाउँदै प्रधानमन्त्रीबाट ओलीले राजीनामा दिएकै राम्रो हुने बताउनुभएको थियो ।
बैठकमा पार्टीकाे आन्तरिक एकताकाे सुदृढीकरण, सरकारका काम कारबाही, स्थायी समितिकाे बैठकलगायत विभिन्न विषयहरूमा छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
बैठकले आन्तरिक छलफल र सरसल्लाह जारी राख्दै यही बैशाख २० गते पार्टी सचिवालयकाे बैठक बस्ने निर्णय गरेकाे छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख १८, २०७७, ०७:१४