काठमाडौँ । आज १ सय ३० औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस, नोबेल कोराना भाइरस अर्थाथ कोभिड १९ कारण प्रभावित भएको छ ।
‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउन थालिएको हो ।
सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ भन्ने नाराका साथ विश्व मजदुर दिवस मनाइएको थियो ।
अमेरिकाको सिकागोको हेय मार्केट भन्ने ठाउँमा बम विस्फोट भयो । सो बम विस्फोट कसले गराएको भन्ने नखुले पनि प्रहरीले आन्दोलनरत मजदुरमाथि व्यापक दमन गर्यो । प्रहरीको गोली लागेर सात मजदुरको मृत्यु भयो । मजदुर आन्दोलनले अन्ततः सफलतासमेत हासिल गरेको विश्व इतिहास छ ।
सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवं श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको हो । त्यसयता सन् १८९० देखि हरेक वर्ष अंग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन थालिएको हो ।
विश्वका मजदुरले यो दिवसलाई पर्वका रुपमा लिँदै आफ्ना अधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम गरी मनाउँछन् ।
नेपालमा विराटनगरमा विसं २००७ मा मजदुर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको हो । कोरोनाको सङ्क्रमण फैलने सम्भावना रहेको भन्दै सरकारले देशव्यापी लकडाउन गरेसँगै यसवर्ष श्रमिक दिवसका अवसरमा नेपालमा क्रियाशील ट्रेड युनियनले कुनै पनि औपचारिक कार्यक्रम राखेका छैनन् ।
श्रमजीवीलाई एकताको सूत्रमा बाँध्न सहयोग पुग्ने विश्वास
राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तर्राष्ट्रिय श्रमिक दिवसले श्रमिकको हकहित, अधिकार तथा स्वतन्त्रता सुनिश्चित गर्दै विश्वभरिका श्रमजीवीलाई एकताको सूत्रमा बाँध्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।
श्रमिक दिवसको अवसरमा राष्ट्रपतिले दिनुभएको सन्देशमा मुलुकमा पूर्ण लोकतान्त्रिक शासन प्रणालीसहित गणतन्त्र स्थापनामा नेपाली श्रमिक वर्गले पु¥याएको अमूल्य योगदानको स्मरण गर्दै उच्च सम्मान प्रकट गर्नुभएको छ ।
सन्देशमा कोरोना महामारीले विश्वलाई नै आक्रान्त पारेको वर्तमान परिवेशमा सामान्य जनजीवन र अर्थतन्त्रमा प्रतिकूल असर पारेकाले यसलाई दृष्टिगत गरी नेपाल सरकारको आगामी नीति तथा कार्यक्रम अघि बढ्ने र यसबाट श्रमिकको जीवन पनि सामान्य अवस्थामा फर्किने आशा गरिएको छ ।
राष्ट्रपतिले कृषि क्षेत्रको श्रमलाई उच्च सम्मान गर्दै औपचारिक र अनौपचारिक सबै श्रमलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन सम्बद्ध पक्षले ध्यान पु¥याउने अपेक्षा गर्नुभएको छ ।
सन्देशमा नेपालको संविधानले सम्पूर्ण नागरिकका लागि रोजगारीको हक सुनिश्चित गर्दैै प्रत्येक श्रमिकका लागि उचित श्रम अभ्यासको अधिकारका साथै उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकलाई समेत सुनिश्चित गरेको छ भनिएको छ ।
उपराष्ट्रपति, प्रधानमन्त्री, राजनीति दलका नेताहरुले पनि दिवसको अवसरमा शुभकामा व्यक्त गरेका छन् ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०७७, ०९:०२